माघ १७, काठमाण्डौ । लाखौँ भक्तजनहरुको पवित्र तीर्थस्थल पशुपतिनाथको जनि महत्व छ त्यति नै अस्तव्यस्त छ । पछिल्लो समय पशुपति क्षेत्रभित्र संचालित व्यापारिक प्रयोजनका पसल तथा टहरा हटाउने विषय विवादमा परेको छ ।
पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्रका अव्यवस्थित फूल उपहार पसल तथा टहरा हटाउन दुईपटक निर्देशन दिइसकेको छ । विश्वसम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई स्वच्छ र सुन्दर राख्न मापदण्ड एवम् स्वीकृत नलिई सञ्चालित पसल तथा बसोबासका लागि बनाइएका अस्थायी टहरा एक साताभित्र हटाउन हटाउन निर्देशन दिएको हो । कोषले आफ्नो घर टहराले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूल सडक तथा सहायक सडकमा हिँड्नै असर पर्नेगरी राखिएका पाली टहरा पनि हटाउन भनेको छ ।
सूचना प्रकाशित भएको एक साताभित्र पसल तथा टहरा नहटाए कोष आफैंले प्रचलित कानुनअनुसार हटाउने चेतावनी दिएको थियो । पछिलो पटक माघ १ गतेको सूचनाको अटेर गरेपछि दोस्रो पटक १४ गते अर्को सुचना जारी गरेको छ । तर सम्बन्धित व्यापारीहरुले पसल संचालनका लागि अर्को विकल्प नदिएसम्म ठाउँ नछोड्ने अडान लिएका छन् । पशुपति क्षेत्रलाई व्यवस्थित राम्रो बनाउने काममा सहयोग गर्न तयार रहेको तर तत्काल अर्को ठाउँमा पसल गर्ने व्यवस्था गरिदिन माग गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषले जबरजस्ती हटाएमा आफूहरुको दैनिक गुजारा गर्ने माध्यम नै समाप्त नहुने भन्दै व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् । कोषले भने कानुनअनुसार बल प्रयोग गरेर भए पनि पसल तथा टहरा भत्काउने चेतावनी दिएको छ । अवैध कामलाई प्रोत्साहन गर्न नसकिने भन्दै कोषका निर्देशक डा. घनश्याम खतिवडाले कारबाही प्रक्रिया सुरु गर्ने चेतावनी नै दिएका छन् ।
कोषले २०७३ सालको सञ्चालक परिषद्को निर्णयअनुसारको भाडा तिरेको भौचरसहित कोठा दाबी गर्न आउन भनेको छ । ०६६ सालमा बसेकाको लागि मासिक एक हजार र ०७३ सालमा बसेकाको लागि मासिक पाँच हजारका दरलेभाडा लिने निर्णय भएको थियो । तर अहिले सम्म कोही पनि कोषमा भाडा तिर्न नआएको कोषको भनाई छ । टहरामा हुने भीडभाडले भक्तजन र पैदलयात्रुमा समेत अप्ठेरो परेको छ । त्यसैले व्यापारीलाई मर्का नपर्ने गरी कोषले उचित व्यवस्थापनको उपाय खोज्नु जरुरी देखिन्छ ।