Logo

साना कुरामै रमाए स्थानीय तह



काठमाडौं, माघ १८ । स्थानीय तहको सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न व्यवस्थित योजना बनाउनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसतर्फ स्थानीय तहका सरकारको ध्यान जान सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले वार्षिक, आवधिक र रणनीतिक योजना बनाउनुपर्ने कानुनी व्यवस्था गरेको छ ।

स्थानीय तहको वार्षिक, आवधिक र रणनीतिक योजनाको अभावमा सङ्घीय सरकारको दिगो विकासको लक्ष्य हासिल गर्न कठिन बन्दै गएको स्थानीय शासन विज्ञको अनुभव छ । स्थानीय तहलाई पाँच वर्ष, १० वर्ष र १५ वर्षमा कस्तो बनाउने भन्ने स्पष्ट चित्रण नै उक्त योजनाले गर्ने तर्क विज्ञको छ ।

स्थानीय तहका जनप्रतिनिधि विकासका योजनामा अलमलमा परिरहेको बेला विज्ञले स्थानीय तहको दिगो विकासका लागि वार्षिक, आवधिक र रणनीतिक योजना बनाउन सुझाव दिएका हुन् । एसियाली विकास बैङ्क ९एडीबी० को सहयोगमा १५० वटा नगरपालिकाले भने एकीकृत सहरी विकास योजना निर्माणको प्रारम्भिक कार्य सुरु गर्न लागेका छन् । अन्य नगरपालिका र गाउँपालिकाको भने त्यसतर्फ ध्यान जान सकेको छैन ।

स्थानीय शासनविज्ञ रमेशकुमार अधिकारीले स्थानीय तहको निश्चित स्थानमा विद्यालय, खेलमैदान, बाटो, पुल खानेपानी, पर्यटकीय स्थल सांस्कृतिक क्षेत्र लगायतका भौतिक संरचना निर्माण गर्न वार्षिक, आवधिक र रणनीतिक योजना आवश्यक भएको बताए ।उहाँका अनुसार स्थानीय तहप्रति नागरिकको अपेक्षा धेरै छ ।

उक्त अपेक्षा क्रमिक रूपमा पूरा गर्न स्थानीय तहले उक्त योजना निर्माण गर्नुपर्छ । अधिकारीले आवधिक योजनाले स्थानीय र राष्ट्रिय आवश्यकताबीच तालमेल गर्छ, वार्षिक विकास कार्यक्रम र दीर्घकालीन सोच तर्जुमा भई योजना व्यवस्थित रूपमा अगाडि बढ्छ भने । वार्षिक योजनाले अल्पकालीन र क्षणिक समस्याको मात्र समाधान गर्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्