Logo

शुभताराका विद्यार्थीको सृजनामा ड्रोन देखि कोरोना भाइरसको सचेतना शब्दचित्रसम्म



काठमाडौं, १८ माघ । शुभतारा स्कुलका विद्यार्थीहरुले आफ्ना सृजनाहरुको प्रदर्शनीमा ड्रोनलगायत प्रविधि देखि चित्रकला र कोरोना भाइरसबाट बच्ने सचेतनासम्म राखेका छन् । विद्यार्थीहरुले आफ्नो दक्षता प्रदर्शन गर्दै ज्ञान र विज्ञानका विषयहरु प्रदर्शनीमा राखेका हुन् ।

विद्यार्थीहरु कतै कविता भित्तामा लेखेर वाचन गर्दै थिए भने कतै आफ्ना प्रविधिसम्बन्धी सृजनाहरु देखाइरहेका थिए । उनीहरुको सृजना हेर्न अभिभावकरु पुगेका थिए । छोराछोरीको सृजना देखेर उनीहरु निकै खुशी देखिन्थे ।

विद्यार्थीहरुले पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय समेत भित्तामा आकर्षक ढंगले चित्र र अक्षरसहित कोरेका थिए । अष्ट्रेलियाको आगलागीको विषय देखि बास्केटबलका लेजेन्ड कोबे ब्रायन्टप्रति श्रद्धाञ्जलीसहितको विषय समेत अक्षर र चित्रकलामा उतारिएका थिए ।

शुभतारा स्कुलकी संस्थापक प्रिन्सिपल रानी गुरुङ कक्षपतीले विद्यार्थीहरुमा दक्षता र क्षमता विकास गर्नका साथै नेतृत्व विकासमा समेत जोड दिने गरी प्रदर्शनी फलदायी हुने बताइन् । विद्यार्थीले पढेका विषय जीवनका हरेक पाइलामा उपयोग गर्न सक्ने गरी प्रयोगात्मक क्रियाकलाप गराइएको बताइन् ।

शुभतारा स्कुलका प्रिन्सिपल खयाम तिमिल्सिनाले विद्यार्थीहरुले आफूले अध्ययन गरेका विषयलाई शब्द, चित्र र व्यवहारमा उतारेर देखाएको बताए । उनले विद्यार्थीमा मौलिकता, सृजनशीलतासँगै क्षमता अभिवृद्धि गर्ने क्रियाकलापलाई प्रोत्साहित गरिएको बताए ।

Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्