Logo

सरकार र पार्टी नेतृत्वको कडा आलोचना



काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले जनताबाट सरकार टाढा हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बैठकको चौथो दिन पन्ध्रवटै समूहका टोली नेताहरुले सरकार र जनताको सम्बन्ध सुमधुर बन्ने नसकेको विषयलाई प्राथमिकतासाथ राखे ।

शुक्रबार चारवटा र शनिबार ११ वटा समूहका तर्फबाट टोली नेताहरुले धारणा राख्दै सरकारको कामबाट जनताले लाभ महसुस गर्ने स्थिति नबनेको बताएका थिए । उनीहरुले सरकार भन्नाले तीनै तहको सरकार बुझ्नुपर्ने बताउँदै कुनै पनि तहका सरकारले राम्रो काम गर्न नसक्दा सरकारमा रहेका सहित पार्टीका सबै नेता आलोचित हुनुपरेको बताएका थिए । समूहगत प्रतिवेदन पेस गर्दै नेताहरुले पार्टी, सरकार र नेतृत्वको कडा आलोचना गरेका हुन् । अध्यक्षद्वयका तर्फबाट राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले पेस गरेको संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमा छलफल गर्न केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजन गरिएको थियो । ती समूहका टोली नेताहरुले आफ्नो समूहमा उठेका विषयलाई समेटेर शनिबार धारणा राखेका थिए । समूह ४ का टोली नेता जगन्नाथ खतिवडा, समूह ५ का टोली नेता ठाकुर गैरे, समूह ११ का टोली नेता राजेन्द्र राई, समूह १३ का टोली नेता लेखनाथ न्यौपाने, समूह १४ का टोली नेता राम कार्की र समूह ८ की टोली नेता विन्दा पाण्डेले सरकार र पार्टीको सम्बन्ध तथा जनता र पार्टीको सम्बन्ध सुमधुर बन्न नसकेको टिप्पणी गरेका थिए ।

उनीहरुले यो सरकार कुनै पनि मानेमा कम्युनिस्टको सरकार नभएको र यसले सर्वहारा वर्ग र आफूहरुको प्रतिनिधित्व गर्न नसक्ने ठोकुवासमेत गरेका थिए । सरकारमै रहेका व्यक्तिहरुको व्यवहार र शैलीका कारण सरकारले गरेका केही राम्रा कामको पनि नेता कार्यकर्ताले प्रचार गर्न हिचकिचाएको उनीहरुले बताएका थिए । बैठकपछि समूह ५ का टोली नेता गैरेले सरकार, एमसिसी, राजनीतिक तथा सांगठानिक प्रतिवेदनमाथि टोली नेताहरुले आफ्ना धारणा राखिसकेको जानकारी दिए ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्