काठमाडौं, १९ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुदन किराँतीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् । एमसीसीबारे मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मनेलको क्रममा मन्त्री बाँस्कोटाले गत बिहीबार आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै किराँतीले राजीनामाको माग गरेका हुन् । संसदको अन्तर्राष्टिय सम्बन्ध समितिको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले भने,“सरकारको प्रवक्ताले बोल्नु भएको कुरा भाइरल भएको छ । एमसीसी जुनसुकै हालतमा पास हुन्छ, अमेरिकाले चाह्यो भने एक घन्टामा सुलेमानी बनाइदिन्छ भन्ने अभिव्यक्ति आपत्तिजनक छ ।” मन्त्री बास्कोटाको अभिव्यक्ति आत्मसमर्पणवादी भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
मन्त्री बाँस्कोटाले ‘एमसीसी’ सम्झौता लागू गर्दा नेपाल–अमेरिकी सैन्य गठबन्धनमा सामेल हुने दाबी गर्नेहरुलाई ‘स्याल हुइँया’ भनी व्यंग्य गरेका थिए । बाँस्कोटाले ‘एमसीसीलाई सैन्य गठबन्धन भनेर स्याल हुइँया नमच्चाउन’ सुझाव दिएका थिए ।
त्यतिमात्रै नभएर उनले नेपालमा एमसीसी कार्यान्वयनमा आइसकेको दाबी पनि गरेका थिए । उनले हरेक विदेशी सहयोगमा शंका गर्ने ‘क्रान्तिकारी हठ त्याग्न’ आग्रह गर्दै ‘शक्तिशाली राष्ट्रहरुसँग पाखुरा सुर्केर केही नहुने’ भन्दै ‘अमेरिकाले चाह्यो भने कुनैपनि बेला ऐऽऽऽया पनि भन्न नपाइ सुलेमानी बनाइदिने’ तर्क गरेका थिए ।
समितिले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम