Logo

आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण



काठमाडौँ, १९ माघ : आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वाेच्च पद ‘महासचिव’ मा जगन चापागाईंले कार्यभार सम्हालेका थिए ।

उनी सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत थिए । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील उनी सो पदमा पुग्ने पहिलो नेपाली तथा एशियाबाट पहिलो व्यक्तित्व छन् । महासङ्घको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले उनलाई सो पदमा निर्वाचित गरेको थियो । उनले प्राप्त गरेको मत सार्वजानिक नगरिए पनि हालसम्मको सर्वाधिक दुईतिहाइ मत प्राप्त गरेको जनाइएको छ । बोर्डमा विश्वका शक्तिशाली २९ देश रहन्छन् ।

सो पदमा एक वर्ष अगाडिदेखि छनोट प्रक्रिया शरुआत हुने बताइन्छ । लिखित तथा मौखिक परीक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याएकामध्ये विपद् व्यवस्थापनमा ज्ञान, सीप, दक्षता भएका एक जनालाई बोर्डले मतदान प्रक्रियाबाट सो पदमा छनोट गर्दछ । उनको चारवर्षे कार्यकाल १ फेब्रुअरी २०२० देखि औपचारिक शुरुआत भएको महासङ्घले आज जनाएको छ ।

विश्वका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको साझा संस्थाका रुपमा महासङ्घ रहेको छ । नेपाल रेडक्रस सोसाइटीसहित विश्वका १९२ देशका रेडक्रस सोसाइटीको महासङ्घमा आबद्धता रहेको छ । युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फूर्त प्रदान गर्न हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गरेका थिए । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरीबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायतका क्षेत्रमा महासङ्घले मानवीय सहायता प्रदान गर्दछ । सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करीब एक अर्ब जनसङ्ख्यामा वर्षेनी मानवीय सहायता महासङ्घले पु¥याएको जनाइएको छ ।

हाल महासङ्घको अध्यक्ष फ्रान्सेस्को रोक्का छन् । यसअघि महासङ्घको महासचिव पदमा इलाड सइ थिए । शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा निवर्तमान महासचिव सइले महासङ्घले कुशल, अतियोग्य, क्षमतवान तथा नयाँ गतिशीलता प्रदान गर्ने महासचिवका रुपमा जगन चापागाईंलाई प्राप्त गरेको प्रतिक्रिया दिए ।

पाँच दशकअघि चितवन दिव्यनगरमा सामान्य परिवारमा उहाँको जन्म भएको थियो । आठ दाजुभाइ र दुई दिदीबहिनी भएको परिवारमा उनी हुर्किनुभएका थिए। अहिले ५२ वर्षमा हिँडिरहेका छन् । उनले विसं २०३७ मा भरतपुरस्थित बालकुमारी विद्यालयमा अध्ययन गर्दा जुनियर रेडक्रस सर्कल गठन गरी मानवीय सेवाका यात्रा शुरुआत गरेका थिए ।

भारतबाट खानी (माइनिङ) इञ्जिनीयरिङमा स्नातक अध्ययन गर्नुभएका उहाँले भुटानी शरणार्थी शिविरबाट महासङ्घको सेवामा उनी प्रवेश गरेका थिए । उनले सन् १९९६ जुनमा ताजकिस्तान र सन् २००३ देखि महासङ्घमा दक्षिण एशियामा सञ्चालित सबै मानवीय सहयोगका कार्यक्रम हेर्नेगरी प्रमुखको जिम्मेवारी पाएका थिए । सन् २००१ मा भारतको गुजरातमा गएको विनाशकारी भूकम्प, सन् २००४ को श्रीलङ्का, मालदिभ्स र भारतलाई नराम्रोसित प्रभावित परेको सुनामी तथा सन् २००५ मा पाकिस्तामा गएको भूकम्पपछि उद्धार तथा राहतमा उनले नै नेतृत्व प्रदान गरेका थिए ।

चीनको सिचुवानको भूकम्प, म्यान्मार र बङ्गलादेशमाको आँधी पीडितलाई सहयोग पु¥याउन उनले नै नेतृत्व प्रदान गरेका थिए। विस २०७२ वैशाख १२ गतेको भूकम्पपछि उहाँ १४ गते काठमाडौँ आइ अन्तरराष्ट्रिय मानवीय सहयोगको समन्वय गरेका थिए । महासङ्घको सेक्रेटरी काउन्सिलले उनलाई सन् २०१५ जुलाइमा निर्देशकको नियुक्ति दिएको थियो ।

उनी पछिल्लो तीन दशकमा विश्व भएका मानवीय सङ्कटको साक्षी भनेका छन् । पछिल्ला विपद्लाई नजिकबाट नियाल्ने र व्यवस्थापन उनका ज्ञानले गरेको छ । “जलवायु परिवर्तनले निम्त्याएका विपद्, प्राकृतिक तथा मानवसिर्जित विपत्तिलाई धेरै देशले भोग्दै आएका छन् । यही अप्ठ्यारो, विपद्मा परेकालाई उद्धार गर्ने र अगामी दिनमा विपद्को सामना गर्नसक्ने क्षमता विकास गर्ने आफ्नो कार्ययोजना रहेको” उनले जानकारी दिए ।रासस



प्रतिक्रिया दिनुहोस्