Logo

जि.पी कोइराला फाउण्डेशनको कोरिया शाखा उद्घाटन, धमलाद्धारा गिरिजाको योगदानको चर्चा



सिओल, दक्षिण कोरिाया, १९ माघ । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेशनको कोरिया शाखा गठन गरिएको छ । दक्षिण कोरियाको राजधानी सिओलमा आज एक कार्यक्रमका बीच उक्त फाउण्डेशनको उद्घाटन गरिएको हो ।

कांग्रेस नेतृ तथा गिरिजा प्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइराला र रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले उक्त शाखाको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी नेतृ कोइरालाले गिरिजा प्रसाद सबैको साझा नेता भएको सुनाउँदै फाउण्डेशनमा आवद्ध हुन सबैलाई आग्रह गरिन् । उनले आफूलाई फाउण्डेशनको लागि विश्वभरि छरिएर रहेका नेपालीहरुलाई सहयोग गर्नसमेत अपिल गरिन् ।

“यो फाउण्डेशन सञ्चालनको लागि विदेशी लगानी आएको छैन् । नेपालीहरुको सहयोग र समर्थनले यो संस्था स्थापना भएको हो ।”-कोइरालाले भनिन् ।  उनले स्वर्गीय नेता कोइरालाको राजनीतिक निष्ठाको बारेमा चर्चा गर्दै आगामी दिनमा उनको सिद्धान्त र नीतिलाई विश्वव्यापीकरण गर्ने फाउण्डेशनको उद्देश्य रहेका सुनाईन् ।

कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै पत्रकार ऋषि धमलाले गिरिजाप्रसाद कोइराला नेपालको गणतन्त्रको सूत्रधार भएको सुनाउँदै उनको राजनीतिक योगदानबारे प्रकाश पारेका थिए । धमलाले भने,”नेपालमा शान्ति प्रक्रियालाई अघि बढाउनको लागि गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण भूमिका खेल्नुभयो । उहाँले शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन अहम भूमिका खेल्नुभएको छ । शान्ति प्रक्रियाको बाँकी कार्यभारत अब शीर्ष नेताहरुले गम्भिर भएर टुँगो लगाउनुपर्छ ।”

नेता कोइराला प्रेस स्वतन्त्रताको पक्षधर नेताको रुपमा परिचित भएको सुनाउँदै धमलाले उनलाई नेपालको दुरदर्शी नेताको संज्ञा दिए । उनले भने,”उहाँ नेपाली राजनीतिको महानायक हो । उहाँकै नेतृत्वमा मुलुकमा दश वर्षे लामो सशस्त्र द्धन्द्ध अन्त्य भयो । पुष्पकमल दाहाल प्रचण्डले अब शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउने महत्वपूर्ण जिम्मेवारी पाउनुभएको छ ।”

फाउण्डेशनले अग्निराज कोइरालालाई कोरिया शाखाको अध्यक्ष बनाएको छ । अध्यक्ष कोइरालाले सहमति, सहकार्यका साथ फाउण्डेश्नलाई अघि बढाउने विश्वास व्यक्त गरे । त्यस्तै, उनले फाउण्डेशनलाई थिंक ट्यांकको रुपमा अघि बढाउनेपनि उनले जानकारी दिए । “यसलाई गैरराजनीतिक संस्थाको रुपमा विकास गर्छौं, त्यस्तै, एकेमेडिक रुपमा अघि बढाउँछौं ।”-उनले भने ।

त्यस्तै कार्यक्रममा दक्षिण कोरियाका लागि नेपालका कायममुकायम राजदुत रामसिंह थापाले पनि स्वर्गीय गिरिजा प्रसाद कोइरालाको योगदानको चर्चा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्