काठमाण्डौ, १९ माघ । सन् २०१९ डिसेम्बरमा चीनको वुहान शहरमा देखा परेको कोरना भाइरस नेपाल लगायत विश्वका ३१ देशहरुमा देखा परिसकेकोले, यसबाट बच्नको लागि हामीले उच्च सर्तक हुनुपर्ने कुरा विर अस्पतालका निवर्तमान निर्देशक प्रा.डा. भुपेन्द्र बस्नेतले बताउनुभयो ।
आइतबार क्यान्सर कान्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा राजधानीस्थित बुढानिलकण्ठ स्कूलमा आयोजित कार्यक्रममा प्रा.डा.बस्नेतले शुरुमा यस भाइरसका कारण वाक्क वाकी लाग्ने, थकाई लाग्ने, घाँटी दुख्ने, उच्च ज्वरो आउने र रुघा खोकी लक्षण देखा पर्ने कुरा बताउनुभयो । उहाँले कोरना भाइरसबाट बच्न हामीले माक्सको प्रयोग गर्नुपर्ने, खोक्दा अथवा आच्छिउँ गर्दा रुमाल अथवा टिसिउ पेपरले मुख छोप्नु पर्ने र खाना खानु भन्दा पहिला र पछि साबुन पानीले राम्रो सँग हात धुनुपर्ने कुरा बताउनुभयो । डा. बस्नेतले व्यक्तिगत समानहरु रुमाल, टावेल र काइयो अरुसँग सेयर गर्न नहुने कुरा प्रष्ट पार्नुभयो । हामीले प्रयोग गरेको टिसिउ पेपर राम्रोसँग विस्तापन गर्नु पर्ने कुरा उहाँले सहभागीलाई जानकारी गराउनुभयो । यी लक्षणहरु देखा परेमा तुरुन्तै स्वास्थ संस्थामा सम्पर्क गर्नुपर्ने कुरा उहाँले जानकारी गराए ।
त्यस्तै गरेर विर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा.. विष्णु दत्त पौडेलले कोरना भाइरसबाट बच्नको लागि व्यापक रुपमा जनचेतना फैलाउनु पर्ने कुरा बताउनुभयो । डा. पौडेलका अनुसार विकसित देशमा प्राय जसो क्यान्सर रोगको सफल उपचार हुने र क्यान्सर विरामीहरु शुरुको अवस्थामा अस्पताल आउने हुँदा, क्यान्सर रोगको खर्चमा कमी हुने कुरा बताउनुभयो । तर, नेपालमा प्राय जसो क्यान्सर रोगीहरु गम्भीर अवस्थामा अस्पताल आइपुग्ने हुँदा, उपचार खर्च बढी र प्रभावकारी कम हुने कुरा उहाँले जनाउनुभयो । प्रा.डा. पौडेलको अनुसार ३०–५० प्रतिशत क्यान्सर रोग हाम्रो खानपान, जीवनशैली र सुर्तीजन्य पदार्थका कारणले हुँदा, हामी सबैले यसमा ध्यान दिनुपर्ने कुरा बताउनुभयो । सुर्तीजन्य पदार्थकै कारण, क्यान्सर, मुटु रोग, मधुमेह, दम लगायत विभिन्न किसिमका रोगहरु लाग्ने हुँदा प्रत्येक व्यक्तिले यस विषयमा ध्यान दिनुपर्ने कुरा डा. पौडेलले जनाए ।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल टेलिकमका प्रतिनिधी विनोद आचार्यले, नेपाल टेलिकमले व्यापार व्यावसायको साथै संस्थागत सामाजिक उत्तरदायित्व अनुसार सुर्तीजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्दै आएको कुरा उल्लेख गर्नुभयो । उहाँले सहभागीहरुलाई नेपाल टेलिकमको सेवा उपयोग गरेर टेलिकमलाई सामाजिक काममा सहभागी हुने अवसर दिन अनुरोध गर्नुभयो । बुढानिलकण्ठ स्कूलका प्रिन्सिपल होमनाथ आचार्यले क्यान्सर काउन्सिल नेपाल र नेपाल टेलिकमलाई जनचेतना कार्यक्रम मार्फत विद्यार्थीहरुलाई विभिन्न रोगहरुको बारेमा जानकारी दिएकोमा धन्यवाद दिनुभयो ।
क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडारियाले बालबालिकाहरु किशोर अवस्थामानै सुर्तिजन्य पदार्थबाट प्रभावित हुनेहँदा यस्ता कार्यक्रम मार्फत विद्र्याीहरुलाई सुर्तिजन्य पदार्थबाट जोगाउनका लागी यस संस्थाले देशव्यापी रुपमा अभियान संचालन गर्दै आएको कुरा उनले जानकारी गराउनुभयो ।
उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरु, शिक्षक, अन्य कर्मचारी र अभिभावक गरी ५०० जना भन्दा बढी सहभागी भएका थिए । सहभागी विद्यार्थीहरुले सुर्तीजन्य पदार्थ रोकथामको लागि अभियान संचालन गर्ने प्रतिवद्धता जनाएका थिए ।