Logo

मिडियाले पार्टीमा गुट छ भनेर लेखेको ओलीलाई चित्त बुझेन, गरे यस्तो गुनासो



काठमाडौं, १९ माघ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मिडियाले आफ्नो पार्टीभित्र गुट, उपगुट भनेर लेखेकोमा चित्त दुखाएका छन् । उनले सञ्चारमाध्यमहरुले आफूहरुको अपमान गरेको समेत टिप्पणी गरे । काठमाडौंमा गत बुधबारदेखि जारी केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको समापन समारोहमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो गुनासो पोखेका हुन् ।

ओलीले भने,“हामीलाई फलानो गुटको भनेर टाउका जोडेर सञ्चारमाध्यममा समाचार प्रकाशित गरिएको छ, हामी कुनै गुटका होइनौं । नेकपा गुटका हौं ।” उनले सञ्चारमाध्यमले टाउका जोडेर हाल्दैमा कतैका पनि नहुने उनको टिप्पणी थियो ।

केन्द्रीय कमिटी बैठकको उद्घाटनमा ओलीले आफूहरुको सफलता आफ्नै हातमा रहेको सुनाउँदै एकसाथ भएर हिँड्न आग्रह गरेका थिए । उनले भनेका थिए,”म साथीहरूलाई आग्रह गर्न चाहन्छु– हाम्रो सफलता हाम्रो एकतामा छ । हामीसँग सही नीतिहरू छन्, हामीसँंग मजबुत पार्टी छ, जनताले विश्वास गरेर यत्रो समर्थन दिएका छन् र हामीसँंग काम गर्ने मौका छ, । यति ठूलो अवसर छ, हामीसँंग समय पनि छ, दुईवर्ष हामीले काम गर्‍यौं र दुईवर्षमा हामीले गरेका कामहरूले हामी राम्ररी काम गर्न सक्छौं भन्ने स्पष्ट देखाइसकेको पनि छ । अलिकति हामीले प्रचारमा ध्यान दिन सकेका छैनौं, एकताल र एकसुर भएर हिँड्न सकेका छैनौं । एक आवाजमा हामी बोल्न सकेका छैनौं । त्यसका पछाडि केही कमीहरू होलान्, ती कमीहरूलाई हटाएर एक आवाजमा बोलौं, एक तालमा चलौं । हाम्रा कदमहरू मिलाएर एक लयमा अघि बढौं । यसो गर्‍यौं भने हामीले देश बनाउन सक्छौं ।”

file photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot