Logo

पत्रकार ऋषि धमलासँग सिओलमा अन्तरक्रिया, नेपालीहरुको समस्या समाधान गर्न लागिपर्ने प्रतिबद्धता



सिओल, दक्षिण कोरिया, १९ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले श्रमको लागि कोरियामा रहेका नेपालीहरुको समस्यालाई समाधानको लागि आफ्नो ठाउँबाट पहल गर्ने स्पष्ट पारेका छन् । आइतबार पत्रकार महासंघ दक्षिण कोरिया, शाखाले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पत्रकार धमलाले यस्तो बताएका हुन् ।

धमलाले कोरियामा रहेका नेपालीहरुका समस्याहरु नेपाल सरकारसमक्ष पुर्याउने पनि स्पष्ट पारे । उनले भने,”म यहाँ भएका नेपालीहरुको समस्यालाई राष्ट्रियकरण गर्न तयार छु । नेपाल पुगेर म प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई भन्छु । यहाँको दुतावासलाई पनि म यहाँ बस्ने नेपालीहरुमा कुनै समस्या नपरोस भनेर पहल गर्न आग्रह गर्छु ।”

उनले पछिल्लो समय कोरिया नेपालको आकर्षक श्रम गन्तव्य बनेको सुनाउँदै कोरियाबाट जाने रेमिट्यान्सले नेपालको विकास र समृद्धिमा ठूलो भूमिका खेलेको सुनाए । उनले भने,”हामी नेपालीहरुको पीडालाई साथ दिन्छौं । कोही पनि नेपालीहरु श्रमको लागि विदेश आउन नपरोस, स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ । सरकारले अब यतातर्फ आफ्नो पाईला अगाडि बढाओस् ।”

कार्यक्रममा कोरियाका लागि कायममुकमायन नेपाली राजदुत रामसिंह थापाले पछिल्लो समय कोरियामा रहेका नेपालीहरुको अवस्था राम्रो भएको सुनाए । उनले आत्महत्याका घट्नापनि पछिल्लो समय घटेको बताए ।

उनले भने,”नेपालीहरुको समस्यामा हामी जस्तोसुकै सहयोग गर्नपनि तयार छौं, दुतावास हरेक क्षण तपाईहरुको दुःखमा साथ दिन तयार छ, अहिले हामीले हरेक महिनामा नेपालीहरुले काम गर्ने स्थानमा पुगेर परामर्श दिने गरेका छौं ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ, दक्षिण कोरिया शाखाका सभापति रञ्जनराज कुँवरले पनि नेपालीहरुको समस्यामा आफूहरुले कलम चलाउँदै आएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्