काठमाडौं, १९ माघ । काठमाडौंमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज भएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । यो जीतसँगै उ शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरमा आइतबार भएको खेलामा नेपाल पुलिस क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।
दशरथ रंगशालामा नवयुग श्रेष्ठले दुई गरेपछि आर्मीले पुलिसविरुद्ध उत्कृष्ट पुनरागमन जित निकालेको हो । यस्तै आर्मीका लागि सुमन अर्याल र सुदिल राईले एक एक गोल गरे । पुलिसका बुद्ध बल तामाङ र मान बहादुर परियारले एक एक गोल गरे ।
रोमान्चक खेलमा सुरुवाती अग्रता भने पुलिसले बनाएको थियो । खेलको २० औं मिनेटमा बुद्धले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । निर कुमार राईको फ्रिकिकमा बुद्धले हेड गोल गरेका थिए ।
तर, खेलको ३४ औं मिनेटमा सुमन अर्यालले गोल गर्दै आर्मीलाई १(१ गोलको बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पुनस् पुलिसले अग्रता बनायो । खेलको ५८ औं मिनेटमा मानले गोल गर्दै पुलिसलाई २-१ को अग्रता दिलाए ।
त्यसपछि चम्किए आर्मीका नवयुग । खेलको ७७ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २-२ गोलको बराबरीमा ल्याए । ८५ औं मिनेटमा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ३-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई ४-२ को उत्कृष्ट जित दिलाए । खेलमा नवयुग म्यान अफ दि म्याच चुनिए । जितसँगै आर्मीले १० खेलमा २३ अंक जोडेको छ । मछिन्द्र फुटबल क्लबलाई १ अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्रको २२ अंक रहेको छ । पुलिस १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम