Logo

पोखरा विमानस्थलमा ३० करोडको ठेक्का सम्झौताः किर्ते कि सक्कली ?



रिपोर्टर्स नेपाल, २० माघ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि बालुवा र ग्राभेलसम्बन्धी ठेक्का सम्झौता किर्ते या सक्कली हो भन्नेबारे जिल्ला प्रहरी कार्यालय पोखरामा कागजपत्रसहित सोमबार एउटा निवेदन परेको छ । थप्रेक कम्स्ट्रक्सन कम्पनि र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाबीच गत वर्ष बालुवा र ग्राभेल निकाल्ने सम्बन्धी ३० करोड ५० लाख ५० हजार मूल्य बराबरको सम्झौता भएको भनिएको दस्तावेज किर्ते भनी विवादमा परिसकेको छ ।

सम्झौतामा थप्रेकका तर्फबाट अध्यक्ष कृष्णबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । विमानस्थल आयोजनाका तर्फबाट ठेक्का पाएको चाइना सीएएमसी इन्जिनियरिङ कम्पनि लिमिटेडका तर्फबाट अधिकृत तथा सूचना अधिकारी कृष्णप्रसाद चापागाईँको हस्ताक्षर छ । आयोजना प्रमुख विनेश मुनाकर्मीले समेत अनुमोदन भनिएको स्थानमा नाम राखी हस्ताक्षर छ । आयोजना देखि नेपाल नागरिक उड्डयन प्राधिकरणको समेत छाप रहेको छ ।

हस्ताक्षर र छापसमेत भएर ठेक्का सम्झौता २०७५ जेठ ९ मा भएको देखिन्छ । सम्झौतामा दुई पक्षले कसरी काम गर्ने र कसरी रकम तिर्नेबारे उल्लेख छ । बालुवा र ग्राभेल उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । त्यसवापत् भ्याटसहित साँढे तीन करोड तिर्ने उल्लेख छ । तर, ती सबै डकुमेन्टमा हस्ताक्षर र छाप नक्कली रहेको विषय उठेको छ ।

थप्रेक कम्स्ट्रक्सन कम्पनि र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाबीच भएको भनिएको ठेक्का सम्झौतापत्र

गत वर्ष ठेक्का सम्झौताको कागजपत्र लिएको थप्रेक काम गर्न नपाएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा पुगेको छ । प्रहरीले हस्ताक्षर र कागजपत्र सक्कली या नक्कली हो अनुसन्धान शुरु गरिसकेको जनाएको छ । हस्ताक्षर नक्कली भए विचौलिया बनेका खेमबहादुर पुन कारबाहीमा पर्नेछन् । उनैले ठक्का मिलाइदिने भनी रकम समेत लिएको स्रोतले बताएको छ । एक करोड ४० लाख रुपैयाँ लिएर ठेक्का दिलाइदिने भनी कागजपत्र सबै हातमा पुर्याइदिएको बुझिएको छ । ठेकेदार कम्पनिका पञ्चराज गुरुङले भने, ‘हस्ताक्षर सही हो भने काम गर्न पाउनुपर्यो, होइन भने ठगीमा संलग्नमाथि कारबाही हुनुपर्यो ।’

प्रहरीले कागजपत्र र हस्ताक्षरबारे जानकारी लिन नाम उल्लेख गरिएका हस्ताक्षरकर्ताहरुलाई बोलाइसकेको बुझिएको छ । हस्ताक्षरमा नाम उल्लेख गरिएका चाइना सीएएमसी इन्जिनियरिङ कम्पनि लिमिटेडका अधिकृत कृष्ण चापागाईँले आफू कम्पनिको आधिकारिक हस्ताक्षरकर्ता नै नभएको बताए । उनले भने, त्यो हस्ताक्षर मेरो होइन र छाप पनि सक्कली होइन । कस्ले, किन र कुन उद्देश्यले त्यस्तो नक्कली कागजपत्र तयार गर्यो भन्नेबारे जानकारी नभएको बताए । उनले भने, यो सुन्दा नै छक्क परेको छु ।

नागरिक उड्डयन प्राधिकरणका तर्फबाट ईञ्जिनियर विनेश मुनाकरीको हस्ताक्षर पनि नक्कली भएको बुझिएको छ । नक्कली हस्ताक्षर र किर्ते कागजातबारे जानकारी पाएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समेत गम्भीर चासो देखाएका छन् । सोमबार पोखरा उनले यो प्रकरणबारे कानुन बमोजिम कारबाही अगाडि बढाइसकेको बताए । उनले भने, ‘गलत गर्ने माथि कडाभन्दा कडा कारबाही हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot