Logo

सरकार भ्रष्टाचारको दलदलमा फस्यो- काँग्रेस केन्द्रीय सदस्य भट्टराई



काठमाडौ, २० माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकार भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् । वर्तमान सरकारको गतिविधिले लोकतन्त्रमाथि नै खतरा बढेको तर्क गरे ।

‘यो सरकार भ्रष्टाचारको दलदलमा फसेको छ,’ भट्टराईले सरस्वती क्याम्पसमा नेपाल विद्यार्थी संघ इकाईले सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा भने, ‘सरकारको गतिविधि लोकतन्त्रविरुद्ध छ ।’ सरकार बाइडवडी, एनसेल कर,बुढीगण्डकी, एमसीसी, बालुवाटार जग्गाप्रकरण, मेलम्ची खानेपानी जस्ता भ्रष्ट आयोजनाहरुलाई संस्थागत गर्न लागिपरेको भन्दै आलोचना गरे । सरकारले ल्याएको प्रेस काउन्सिल विधयेक जनताको मौलिक स्वतन्त्रताविरुद्ध रहेको भन्दै त्यसको विरोध गर्नुपर्नेमा जोड दिए ।

सरस्वती बहुमुखी क्याम्पस, नेपाल विद्यार्थी संघ इकाईले आयोजना गरेको रक्तदान कार्यक्रम सोमबार सम्पन्न भएकोे हो । कार्यक्रममा सरस्वती बहुमुखी क्याम्पस नेविसंघ इकाई सभापति चन्द्रबहादुर क्षेत्रीले सरकारले दुई तिहाइका दम्भ देखाए विद्यार्थीले आन्दोलन गरी समाप्त गरिदिने चेतावनी दिएका थिए ।

कार्यक्रममा क्याम्पसका प्रमुख गोलमान गुरुङ, पूर्व इकाई सभापतिहरु राजकुमार पाठक, काठमाण्डौँ २६ वडाका अध्यक्ष खेम तिवारी, लिला बल्लव दहाल (काका), पूर्व इकाई सचिव रोजन वानियाँ लगायत वडाका इकाई सदस्यहरु उपस्थित थिए । रक्तदान कार्यक्रममा १२३ विद्यार्थीहरुले रक्तदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्