Logo

भारतीय बजेटको दबाब



काठमाडौँ, २१ माघ । कृषि र उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्दै आएको भारतको नयाँ बजेटले आर्थिक क्षमता कमजोर भएकाले नेपाललाई भने सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी पर्ने देखिएको छ ।

नेपालको दुई तिहाइ व्यापार भारतसँग निर्भर छ । आफ्नो आन्तरिक उत्पादनलाई थप प्रतिस्पर्धी तथा सस्तो बनाउने कार्यक्रमसहित गत शनिबार आएको ३०.४२ लाख करोडको भारतीय बजेटले नेपाली अर्थतन्त्रमा केही प्रत्यक्ष असर पर्ने भएको हो । व्यक्तिगत आयकर लाग्ने रकमको सीमामा परिवर्तन र विदेशी लगानीकर्तालाई कर छुट तथा अन्य विशेष सुविधाका कारण नेपालबाट अनौपचारिक रूपमा पुँजी पलायनदेखि लिएर अन्य मुलुकहरूको प्रत्यक्ष वैदेशिक लगानीसमेत भारततर्फ आकर्षित हुने आकलन गरिएको छ । अन्य मुलुकहरूबाट आयात हुने केही सामग्रीहरूको भन्सार महसुलमा वृद्धि गरिएको र त्यस्ता वस्तुमा नेपालले भन्सार सुविधा पाउने कारणले केही अवसरका पक्षसमेत भारतीय बजेटले देखाएको छ । ‘ठूलो अर्थतन्त्र, प्रतिस्पर्धी क्षमतामा बलियो भएको भारतको प्रायः बजेटले नेपाललाई नकारात्मक असर नै गर्ने हो,’ पूर्वअर्थसचिव शान्तराज सुवेदी भन्छन्, ‘मुख्य गरी कृषि तथा औद्योगिक उत्पादनमा सस्तो र प्रतिस्पर्धी हुँदा हामीलाई त्यसलेअसर गर्छन् ।’

नेपालबाट भारत निर्यात हुने सामग्री र भारतबाट नेपाल आउने सामग्रीहरू सस्तो र प्रतिस्पर्धी हुने भएकाले यसले सिधा असर गर्ने भएको हो । ‘व्यक्तिगत आयकरको सीमाको परिवर्तन र छुट सुविधाका कारण ठूला प्रकारका वैदेशिक लगानी नेपाल नआएर उतै जान सक्छन्,’ उनको अनुमान छ, ‘हाम्रो सरकार यो वर्षको बजेटको मध्यावधि समीक्षाको तयारीमा छ । उता भएको परिवर्तनलाई हेरी यहाँ नयाँ रणनीति तय गर्दा राम्रो हुन्छ ।’ कम लागतमा नेपाली वस्तुको उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात बढाउनेमै जोड गर्नुपर्ने उनको सुझाव छ । भारतीय बजेटले पार्ने प्रभावका विषयमा अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले अध्ययनको काम भने सुरु गरिसकेका छन् ।

कृषि र औद्योगिक उत्पादनलाई प्राथमिकताको असर
५० प्रतिशतभन्दा बढी श्रमशक्ति आबद्ध कृषि क्षेत्रको योगदान भारतीय अर्थतन्त्रमा १६ प्रतिशत छ । किसानले आफ्नो उत्पादनको मूल्य नपाउने र ऋणका कारण आत्महत्याका घटना पनि धेरै छन् । यसको नकारात्मक असर घटाउन यसपटक बजेटमा किसान लक्षित १६ सूत्रीय कार्ययोजना घोषणा गर्दै सन् २०२२ सम्ममा कृषकको आय दोब्बर बनाउने योजना अघि सारिएको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्