काठमाडौँ, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन लामो केन्द्रीय कमिटी बैठकपछि आइतबार केन्द्रीय सदस्य र सांसदहरूका लागि बालुवाटारस्थित सरकारी निवासमा रात्रिभोज आयोजना गरे । साँझ ६ देखि करिब ९ बजेसम्म चलेको भोजमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल साँझ ७ बजेतिर मात्रै पुगे । नेपाल पुगेपछि ओलीका छेउमा बसिरहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सिट छोडिदिए । ओली र नेपाल नजिकिए ।
६ र ७ वटा व्यक्तिगत निमन्त्रणाका बाहिरी भोजहरू सकेर बालुवाटार पुगेका नेपालले खानामा उति रुचि देखाएनन् तर उनलाई लालमोहन मन पर्छ भन्ने थाहा पाएका ओलीले हलुवा र लालमोहन ल्याइदिन आग्रह गरे । नेपालले मीठो मानेर खाए । ठुल्ठूलो स्वरमा गीत बजिरहेकाले के भलाकुसारी भयो भनेर भोजमा सहभागी अरूले सुन्न सकेनन् तर उनीहरूबीच निकैबेर कुरा भयो । गत कात्तिक अन्तिम साता झन्डै दुई घण्टा छलफल गरेयता ओली र नेपालबीच सौहार्दपूर्ण रूपमा संवाद भएको देखिएको टिप्पणी त्यहीं पनि भएको थियो । प्रधानमन्त्री ओली रात्रिभोजमा धेरैबेर बसे, नेपालसँग मात्रै होइन, अरू नेता र कार्यकर्तासँग पनि संवाद गरे, हात मिलाए र फोटो खिचाए ।
खासखास अवस्थामा प्रधानमन्त्री ओलीले यस्ता कार्यक्रम आयोजना गरेर आफूसँग भड्किएका नेता–कार्यकर्तासँग दूरी घटाउने कोसिस गरेका नजिर थुप्रै छन् । त्यस्ता खास अवस्था के हुन त रु ओलीनिकट एक नेता भन्छन्, ‘पार्टीमा आफू कमजोर भएका बेला, पार्टीभित्रको अर्को गुट सलबलाएका बेला र बनिरहेको अर्को कुनै समीकरण भत्काउनुपरेका बेला उहाँले डिनर डिप्लोमेसी अपनाउनुहुन्छ ।’ उनले यसअघि माधव नेपाल, वामदेव गौतमलगायतका नेताको जन्मदिनमा केक काटेका उदाहरण पनि छन् । त्यसो भए ओलीलाई यसपालि पार्टीमा अप्ठ्यारो परेकै हो रु ‘सम्पूर्ण परिस्थिति बुझेपछि उहाँले आफ्नो शैली परिवर्तन गर्नुभयो,’ स्थायी कमिटी सदस्य युवराज ज्ञवाली भन्छन्, ‘नेकपाको पार्टी जीवनमा नेतृत्व स्वेच्छाचारी तरिकाले हिँड्ने अवस्था छैन भन्ने यसले प्रमाणित गर्यो ।’ ज्ञवालीले प्रत्येक समूहमा भएको छलफलबारे प्रधानमन्त्री ओलीलाई राम्रोसँग रिपोर्टिङ भएकाले पनि सन्तुलित अभिव्यक्ति आएको हुन सक्ने टिप्पणी गरे ।
कान्तिपुर दैनिकबाट