Logo

अब मनोरञ्जन लिन फिल्म हल जानुपर्दैन्, मिडियाका समाचार हेरे पुग्छ : प्रधानमन्त्री ओली



काठमाडौं, २१ माघ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावमा नेकपाले स्पष्ट दुई तिहाईको बहुमत ल्याउने घाषणा गरेका छन् । पार्टीमा आफू अल्पमतमा पर्यो र प्रधानमन्त्री पनि अल्पमतमा पर्यो भनेर सञ्चारमाध्यमले लेखेको भन्दै उनले आलोचना गरे । उनले भने,‘आलोचना गर्न नपाएर जे मन लाग्यो त्यही लेख्ने काम भयो । पार्टीभित्र हामी बहुमत र अल्पमतमा छैनौं । हामी एकमत छौं ।

पार्टी्निकट अखिल नेपाल महिला संघको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘अबको निर्वाचनमा नेकपालाई दुई तिहाईको बहुमत ल्याउन दुनियाँको कुनैपनि तागदले रोक्न सक्दैन् । यदि कसैले रोक्ने हिम्मत गरे आजैबाट सुरु गरे हुन्छ ।’

प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसविरुद्ध खरो रुपमा प्रस्तुत भएका थिए । उनले कांग्रेसले वर्तमान सरकारले गरेका कतिपय राम्रा कामहरुको बारेमा जनतामाँझ भ्रम सिर्जना गरेको आरोप लगाए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीको लागि नेपाली सेनाले किनेको हेलिकप्टरभित्रै सोफा लिएर हिँड्न थालेको भनेर मिडियामा आएको समाचारप्रति पनि कडा असन्तुष्टि व्यक्त गरे ।

उनले भने,‘अब फिल्म हलमा गएर मनोरञ्जन लिन छोडियो, अब त मिडियामा आउने यस्ता यस्तै समाचारले मनोरञ्जन दिन थालेका छन् ।’ प्रधानमन्त्री ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गरे । पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उहाँले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गरे ।

उनले पार्टीका महिला नेताकार्यकर्तालाई आफ्नो सङ्गठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिँदै भने,“परिवर्तन र कम्युनिष्टविरोधी महिला संस्था वा अन्तर्रा्ष्ट्रिय संस्थाहसँग सहकार्य गरेर महिला अधिकार स्थापित हुन्छ भन्ने पूर्ण सत्य होइन । यो काम हाम्रो सङ्गठनले मात्रै गर्न सक्छ ।”

वर्तमान सरकारले विकासनिर्माणलाई गति दिएकाले आगामी आम निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने उनले जनाए । सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमको कुनै असर नपर्ने उल्लेख गर्दै उनले भने,“म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो । कसैले रोकेर रोकिँदैन । रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ ।”

अध्यक्ष ओलीले पार्टी्भित्र सबै नेताहरु एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर अघि बढेकाले कतिपय सञ्चारमाध्यमले चलाएको भ्रममा परेर को बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरे । उनले भने,“पार्टीमा अध्यक्ष छु । प्रधानमन्त्री छु । निर्णयहरु एकता र सहमतिका साथ गरिएको छ । को बहुमत र अल्पमतमा भन्ने खुद्रामसिना कुरामा हाम्रो ध्यान छैन ।”

आफूले पछिल्लो समयमा नेतृत्व गरेको सरकारका राम्रा कामको केही झलक हालै सम्पन्न पार्टीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गरेको बताउँदै उनले त्यसलाई अध्ययन गरी प्रचार गर्न पनि महिला नेत्रीलाई आग्रह गरे । उनले छाउपढी जस्ता कुप्रथा अन्त्यका लागि मनमस्तिष्कदेखि लाग्नुपर्ने आग्रह गर्दै विद्रोह र सङ्घर्षलाई सही बाटाका साथ सङ्घर्ष र मेलमिलापबाट रुपान्तरणमा ल्याउन आवश्यक रहेको पनि बताए ।

सो सङ्घको एकतापछि चार हजार ४७५ सदस्यीय केन्द्रीय समितिका सदस्यले आज शपथ ग्रहण गरेका छन् । सङ्घका अध्यक्ष अमृता थापाले अब आफूहरु छिट्टै जिल्ला तहको एकतामा जाने जानकारी दिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot