Logo

ओलीको अस्त्रः प्रचण्ड र माधवलाई लडाउने, महाधिवेशनमा फेरि अध्यक्ष बन्ने



काठमाडौ, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीको २०७७ सालमा तय भएको महाधिवेशनले दुई अध्यक्षात्मक अवस्थाको अन्त गर्नेछ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेकामा अबको महाधिवेशनमा उनीहरु बीच नै मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

नेकपा एमाले र माओवादी बीचको एकतापछि बनेको नेकपाको पहिलो महाधिवेशनपछि एकल अध्यक्ष बन्न प्रभावशाली नेताहरुले आ-आफ्नो अस्त्र फाल्न थालिसकेका छन् । वर्तमान अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली अध्यक्ष बन्न चाहन्छन् । उनले आफ्नो टिमसँग पूर्व तयारीका लागि छलफल चलाइसकेका छन् ।

अबको तीन वर्ष प्रधानमन्त्री बन्छु भनिसकेका ओलीले पछिल्लो समय डिनर रणनीति चालिरहेका छन् । बालुवाटारमा नेकपाका नेताहरुलाई बोलाएर सांगितिक साँझसहितको डिनर गर्न थालेका छन् । मंगलबार उनले वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालसहित प्रभावशाली नेताहरुलाई बोलाएर सांगितिक साझसहितको डिनर गरेका थिए । ओलीले बाँसुरी बजाउँदा खनाल र नेपालले सारंगी रेटेका थिए ।

ओलीले पछिल्लो समय खनाल र नेपाललाई बोलाएर एक्ला एक्लै वार्ता समेत गरे । तीन घन्टासम्म सँगै बसेर भलाकुसारी गरेका थिए । ओलीले वामदेव गौतमलाई उपाध्यक्ष बनाएर निकट बनाए ।

ओलीले यसरी नै सम्पूर्ण राजनीतिक अस्त्र प्रयोग गरिरहेका छन् । मृगौला प्रत्यारोपण गरेर तन्दरुस्त भएर तीन वर्ष सरकार चलाउने भनिसकेका छन् । यसका लागि उनले रणनीतिक चार्तुयता देखाइरहेका छन् ।

अहिले नेकपामा प्रचण्ड शक्तिशाली बन्दै जाँदा ओलीको डिनर रणनीति चलिरहेको छ । उनले विगतमा माधवकुमार नेपाललाई पेलेका थिए । खनाललाई बेवास्ता गरे । फेरि खनाललाई साथ दिएर नेपाललाई पेले । प्रचण्डसँग मिलेर अगाडि बढ्दा माधव नेपाललाई निकै पेले ।

ओलीले प्रचण्ड र माधव नेपाललाई लडाएर शक्ति बढाउन खोजेको विश्लेषण समेत भइरहेको छ । नेकपाका भावी अध्यक्षका आकांक्षीमध्येमा ओली, प्रचण्ड र नेपाल सर्वाधिक शक्तिशाली आकांक्षी हुन् । त्यसैले त्रीकोणात्मक प्रतिष्पर्धामा ओलीले प्रचण्ड र माधव नेपाललाई लडाएर बाजी मार्न खोजिरहेका छन् । प्रचण्ड र माधव नेपाल नजिकिएपछि ओलीले नेपाललाई फकाउन थालिसकेका छन् । उनले यसरी नै प्रचण्ड र माधव नेपाललाई लडाएर आफू शक्तिशाली बन्दै पुनः अध्यक्ष बन्ने रणनीति बनाइरहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot