काठमाडौं, २२ माघ । डोटीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रेम आलेले सरकारमा रहेकाहरु पश्चिम सेती अगाडि बढाउन गम्भीर नभएको आरोप लगाएका छन् । बुधबार बोलन्या थली धनगढीले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको विशेष अन्तरक्रियामा बोल्दै उनले यस्तो टिप्पणी गरेका छन् ।
उनले भने,”सरकारमा रहुञ्जेल पश्चिम सेतीबारे चुप लाग्ने र सरकारबाट हटेपछि बोल्ने प्रवृत्ति छ ।” उनले सत्तामा पुगेकाहरु पश्चिम सेती अघि बढाउनेबारे गम्भिर नभएको आरोप लगाए । उनले सन् १९५७ मा अष्ट्रेलियन कम्पनी र सन् २०१२ मा चिनियाँ कम्पनीहरु काम गर्न खोज्दा बजेटको छिनोफानो नभएको कारण दुवै कम्पनीहरुलाई निर्माण गर्न रोक लगाइएका बताए । २८ वर्षमा थुप्रै सरकार बनेपनि निर्माणका लागि गम्भीरतापूर्वक पहल नगरेको उनको भनाई थियो ।
पश्चिम सेती वर्तमान सरकारको पालामा काम हुने उनको विश्वास छ । उनले भने,”पहिल्यै तयार भएको डिपीआरलाई करेक्सन गरेर काम गर्ने प्रतिबद्वता व्यक्त भइसकेको छ । उनले यो परियोजना ईपिसिएफ मोडलबाट भएपनि बनाउनुपर्ने सुझाव अघि सारे । उनले भने, यो परियोजना ईन्जिनियरिङ प्रकुरमेन्ट कन्स्ट्रक्शन फण्डीङ मोडलबाट भएपनि राज्यले अघि बढाउँछ । सुदुरपश्चिमबाट पटक पटक विभिन्न पार्टीका मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री भए तर पश्चिम सेती अघि बढाउनेबारे गम्भिर भएनन् । उनीहरुले सत्तामा हुँदा यसलाई वास्ता गरेनन् । जब सरकारबाट बाहिरिन्छन् र मन्त्री खुस्किन्छ अनि पश्चिम सेतीको कुरा उठ्छ । दातृ निकायको सहयोगबाट भएपनि यसलाई अघि बढाईन्छ ।” file photo