काठमाडौं, माघ २३ (नागरिक)– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाभियोगबाट अन्तत सफाइ पाएका छन्।ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटमा बुधवार भएको मतदानमार्फत् राष्ट्रपति पदबाट हट्न नपर्नेगरी उन्मुक्ति पाएका हुन्।
विपक्षी डेमोक्र्याटहरूले डिसेम्बर महिनामा आफ्ना सम्भावित राष्ट्रपति पदका उम्मेद्वारलाई बदनाम गर्ने उद्देश्यले युक्रेनलाई दबाब दिएको भन्दै उनीमाथि अभियोग लगाएका थिए।
आउँदो नोभेम्बर महिनामा ट्रम्प महाभियोग सामना गरेर चुनावमा जाने पहिलो राष्ट्रपति हुनेछन्।बुधवारको ऐतिहासिक मतदानमा सिनेटले युक्रेनसँगको ट्रम्पको लेनदेन र संवादका बिषयसँग जोडिएका अभियोगबाट छुटकारा दिएको हो।
नोभेम्बर ३ मा हुन लागेको राष्ट्रपतिय निर्वाचनमार्फत् दोस्रो कार्यकाल ह्वाटहाउसमा आउन खोजिरहेका ट्रम्पले आफूले गतल गरेको कुरालाई अस्वीकार गर्दै आएका छन्।
बीबीसीका अनुसार हालसम्म अमेरिकामा दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्। सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टन तर ती दुवैजनालाई सिनेटले दोषमुक्त गरिदिएको थियो।