काठमाडौं, माघ २३ । नेपाल प्रहरीभित्र समयमै बढुवा प्रक्रिया अघि नबढ्दा १ सय ४४ भन्दा बढी प्रहरी अधिकृतको वृत्ति विकास अन्योलमा परेको छ। नेपाल प्रहरीमा प्रहरी नायब महानिरक्षक डिआइजीदेखि प्रहरी निरीक्षकसम्म ठूलो संख्यामा दरबन्दी खाली भए पनि गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठक बस्न नसकेका कारण प्रहरी अधिकृतको वृत्ति विकासमा असर परेको हो।
बढुवा समितिको बैठकमा गृहसचिव अनिवार्य हुन्छ। तर तत्कालीन सचिव प्रेमकुमार राई अवकाश हुनुअघि विदेश भ्रमणमा गएकाले बढुवा समितिको बैठक बस्न सकेको थिएन। उनले शुक्रबार राजीनामा दिएपछि अहिले गृह मन्त्रालयले नयाँ सचिव पाए पनि अझै बढुवा समितिको बैठक बस्न अझै एक हप्ता लाग्ने सम्भावना छ।
समितिको बैठक नबस्दा प्रहरी प्रधान कार्यालयले पनि बढुवा हुने प्रहरी अधिकारीको फाइल मन्त्रालयमा पठाएको छैन। केही दिन गृहसचिव विदेश भ्रमण रहेको र त्यसपछि मन्त्रालयकै काममाव्यस्त भएकाले सिफारिस गर्न नसकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।