Logo

अरुण तेस्रोका लागि नेपाल र भारतका बैंकहरुसँग एक खर्बको लगानी सम्झौता (फोटोफिचर)



काठमाडौं, २३ माघ । अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि नेपाल र भारतका बैंकहरुले निर्माण कम्पनिसँग लगानी सम्झौता गरेका छन् । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको आयोजनाका लागि आज दुवै देशका बैंकहरुले रु एक खर्ब बराबरको सम्झौता गरेका हुन् ।

नेपाली बैंकले रु १५ अर्ब बढी लगानी गरेका छन् भने बाँकी रु ८५ अर्ब लगानी भारतीय बैंकले गरेका हुन् । ९०० मेगावाट क्षमताको सो आयोजनामा नेपालबाट एभरेष्ट बैंक र नेबिल बैंकले लगानी सम्झौता गरेका हुन् । भारतको एसबीआई, पञ्जाब नेस्नल बैंक, केनरा बैंक, युनियन बैंक र एक्जिम बैंकले लगानी गरेका हुन् । आजै सतलज कम्पनि र बैंकका प्रतिनिधिहरुबीच लगानी सम्झौतामा हस्ताक्षर समेत भएको छ । सम्झौता कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा, भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजयकुमार, सतलज र लगानी सम्झौतामा हस्ताक्षर गर्ने बैंकका प्रतिनिधिहरु उपस्थित थिए ।

आयोजनाको प्रवद्र्धक एसजेभिएनले करिब रु २५ अर्ब स्वपूँजीका रूपमा लगानी गरेको छ । अहिले आयोजनाको काम यही लगानीबाट भएकोमा अब बैंकहरुसँग ऋण सम्झौतापछि कामले गति लिने विश्वास गरिएको छ ।

आयोजनाको कूल लागत रु एक खर्ब १५ अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । आयोजनाको संरचना निर्माणका लागि रु एक खर्ब चार अर्ब तथा रु ११ अर्ब रकम भने प्रसारण लाइन निर्माणका लागि खर्च गरिनेछ । नेपाल राष्ट्र बैंक र लगानी बोर्डले स्वीकृति दिएपछि औपचारिकरूपमा ऋण लगानी सम्झौता गरिएको हो ।

आयोजना आगामी २०७९ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना आगामी २५ वर्षपछि चालू अवस्थामा नै नेपाल सरकारले प्राप्त गर्नेछ ।

त्यस्तै प्रसारण लाइन निर्माणका लागि समेत भारतको पञ्जाब नेशनल बैंकले रु आठ अर्ब लगानी गर्ने यसअघि नै सहमति भइसकेको छ । परियोजना विकास सम्झौताअनुसार आयोजनाबाट नेपालले १९७ मेगावाट विद्युत् निशुल्क प्राप्त गर्नेछ ।

आयोजनामा नेपाली बैंकले लगानी गर्ने सहमतिपत्रमा २०७५ चैत १६ मा सम्झौता भएको थियो । सङ्खुवासभाको मकालु गाउँपालिकामा आयोजना निर्माण गरिरहेको छ ।

तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्