काठमाडौं, २४ माघ । डेढ महिनाअघिसम्म प्रति किलो दुई सय ८० मा विक्री हुँदै आएको ब्रोइलर कुखुराको मासुको मूल्यमा अस्वाभविक बृद्धि भएको छ । हाल प्रति किलो चार सयदेखि चार सय २० रुपैयाँसम्ममा विक्री भइरहेको कुखुराको मासुको मूल्यमा एक्कासि आएको बृद्धिको ठोस कारण भने खुलाइएको छैन । कुखुरापालकले चल्ला नकिनेको भन्दै अण्डा उत्पादक किसानले गत महिना अण्डा नष्ट गरेपछि चल्लाको अभाव भई यतिबेला मासुको मूल्य बढ्न गएको उत्पादकहरुले बताएका छन् ।
कुखुरा उत्पादकले अण्डामा कार्टेलिङ गराएका कारण पछिल्लो समय कुखराको मूल्य बढेको समाचारस्रोतले जनाएको छ । अहिले विना कुनै ठोस कारण मासुको मूल्यमा झण्डै ८० प्रतिशतका दरले बृद्धि गराउँदा यसको ठाडो असर उपभोक्तामा परिरहेको छ । यस्तोमा नियामक निकायसमेत मौन रहनु आश्चर्यजनक भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । बजारमा पसलपिच्छे व्यवसायीले मनपरी मूल्य लिएर उपभोक्ता ठगिरहेको उपभोक्ताले गुनासो गरेका छन् । भीमसेनगोलामा मासु पसल सञ्चालन गर्दै आउनुभएका राजु शाही होलसेल मूल्य नै बढेर आएकाले मूल्य बढाउनुपरेको बताउँछन् । डेढ महिनाको अवधिमा मासुको मूल्य किलोमा एक सय रुपैयाँभन्दा बढी वृद्धि भएको उनको भनाइ छ । अन्य समयको तुलनामा चिसो मौसममा मासुको खपत बढी हुने गर्छ । अन्डा नष्ट गरेर बजारमा अभाव देखाएर व्यवसायीले मासुको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि गराएका छन् । बजारमा मासुमा अस्वाभाविक मूल्यवृद्धि हुँदा पनि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी रूपमा बजार अनुगमन हुन नसकेको उपभोक्ताको गुनासो छ ।
कुखुराको मासुमा गरिएको यो अस्वाभाविक मूल्यवृद्धिका विषयमा वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बजार अनुगमन गरेर मूल्यवृद्धि गर्ने ह्याचरी उद्योग र विक्रेतालाई कारबाही गर्ने बताएको छ । यसै सन्दर्भमा विभागले गत मंगलवारसम्म ह्याचरी र विक्रेतालाई मूल्य बढ्नुको कारण पेश गर्न समय दिएको थियो । विभागले, मूल्य बढ्नुको उचित कारण नआएमा सम्बन्धित पक्षलाई कारबाही गर्ने बताए पनि त्यसतर्फ पछिल्ला दिनमा विभागले कुनै कदम चालेको भने पाइएको छैन ।
विभागले नियमित रूपमा बजार अनुगन गरेपछि कार्टेलिङ गरेर मूल्य बढाउने ह्याचरी उद्योग र विक्रेतालाई कारबाही गरेको बताए पनि कस-कसलाई कारबाही गरियो भन्नेचाहिँ खुलाएको छैन । डेढ महिनाअघि लागतभन्दा कममा कुखुराको मासु र अण्डा विक्री गर्नुपर्ने अवस्था भएपछि ह्याचरी उद्यमीले चिकेन होलिडेको निर्णय गरेका थिए । १० दिनसम्म चल्ला उत्पादन र विक्री नगर्ने निर्णयसँगै मूल्य लगातार बढेको छ । उद्योगीले बजारमा अभाव देखाएर मूल्य एक्कासि बढाएका छन् ।
१० दिन चल्ला विक्री बन्द हुनेबित्तिकै कुखुरा उत्पादन कम हुने गर्छ । ब्रोइलर र लेयर्स गरी सातामा देशभर २५ लाख चल्ला उत्पादन बन्द गरेर मूल्य बढाइएको थियो । त्यसबेला मागभन्दा आपूर्ति बढी भएपछि किसानले ब्रोइलर जिउँदो किलोको एक सय ५० रुपैयाँ र अण्डा प्रतिगोटा आठ रुपैयाँमा बेचेका थिए ।-विमर्श साप्ताहिकबाट