Logo

आरोह–अवरोहबिच खनालको कार्यकाल



काठमाडौं, माघ २५ । कार्यकालको बेला केही राम्रा काम गरेर आफ्नो छवि उँचो बनाउने योजनासहित नेपाल प्रहरीको महानिरीक्षक (आइजिप) पद सम्हाले सर्वेन्द्र खनालले कार्यकालभर मिश्रित जिम्मेवारी निभाए।

उनको कार्यकालमा प्रदेश तहमा प्रहरी संगठन विस्तार, नयाँ कानुनको अभ्यास, राजनीतिक दबाब, निर्वाचन सुरक्षाजस्ता चुनौतीको सामना नेपाल प्रहरीले खेप्यो।

कानुनविपरीत गुण्डाहरूमाथि प्रहरी इन्काउन्टर, निर्मला पन्त हत्या प्रकरण र ३३ किलो सुन काण्डजस्ता घटना उनको कार्यकालमा छताछुल्ल भए। हप्तामा एकपटक बस्नैपर्ने ‘पोलिसी कोर्डिनेसन कमिटी’को बैठक उनको कार्यकालमा जम्माजम्मी पाँचपटक मात्रै बस्यो। निरन्तर गर्नुपर्ने काम नहुँदा त्यसले प्रहरी संगठनलाई अलि कमजोर बनाएको महसुस पूर्व प्रहरीले गरे।

पूर्व डिआइजी हेमन्त मल्लले खनालको कार्यकाल सरसर्ती हेर्दा केही राम्रा कामबिच विवादित घटना धेरै भएको तर्क राखे। इन्काउन्टरको विषयमा प्रहरीले पहिलेदेखि नै आलोचना खेप्दै आएकाले खनालको कार्यकालमा पनि त्यसले निरन्तरता पाएको उनको भनाइ छ।

‘बितेका २ वर्षमा राज्यको शासन प्रणाली नै फेरिएको थियो, प्रहरी पनि यसैमा ‘मोभ’ भएर शान्तिसुरक्षा दिनुपर्ने बाध्यता थियो, त्यसकारण नराम्रो भन्न मिल्दैन किनकि अहिलेको सरकारमा प्रहरीले धेरै आरोहअवरोह झेलेको छ,’ उनले भने।

पूर्व एआइजी देवेन्द्र सुवेदीले खनालको कार्यकाल सबैभन्दा कठिनाइले बितेको बताए। उनले खनालले त्यति उत्कृष्ट काम नगरे पनि शान्तिसुरक्षा खलबल्याउने विषयमा निकै सजग भएको जानकारी दिए। उनले भने, ‘उहाँको कार्यकाललाई गलत भन्न मिल्दैन, किनकि देशको अवस्थाअनुसार प्रहरीले सुरक्षा दिने हो।’ केही प्रहरीले खनालको कार्यकाल राम्रो भनेर वकालत गरे पनि पूर्वआइजिपीहरू भने उनको कार्यकालप्रति पुरै असन्तुष्ट देखिए। प्रहरी संगठन परिचालन र उत्साहमा थप्ने विषयमा खनालको नपुगेको आइजीपिहरूको तर्क छ। आइजिपीले प्रहरी संगठनलाई धमिरो लगाएर छाडेको टिप्पणी उनीहरूको रहेको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot