Logo

जब राष्ट्रपति भण्डारी पुनर्निर्माण भइरहेका सम्पदाको अवलोकनमा पुगिन् (फोटोफिचर)



काठमाडौँ, २५ माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गरेकी छिन् ।

अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले गोर्खा भूकम्पबाट क्षति भएका ऐतिहासिक सम्पदा निर्माणको प्रगति र त्यसमा प्रयोग भएका सामग्रीेबारे चासोपूर्वक जानकारी लिइन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावली र ती निर्माणाधीन आयोजनाका प्रमुखले ऐतिहासिक संरचनाको हालसम्मको प्रगतिबारे राष्ट्रपतिलाई जानकारी गराएको थियो ।

रानीपोखरीको निर्माणमा ६० प्रतिशत भएको छ भने दरबार हाइस्कुल निर्माण सम्पन्न भई हस्तान्तरणको चरणमा छ । धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत रहेको छ भने काष्ठमण्डप र वसन्तपुर दरबारको उत्साहजनक ढङ्गबाट निर्माण भइरहेको छ । राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणका क्रममा काठमाडौँ महानगरका प्रमुख र उपप्रमुख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा मन्त्रालय तथा पूरातत्व विभागका उच्चपदस्थ अधिकृत सहभागी हुनुहुन्थ्यो । दरबार हाइस्कुल, काष्ठमण्डप र हनुमानढोका क्षेत्रमा राष्ट्रपतिबाट भएको अवलोकन भ्रमणमा नेपालका लागि चीनका राजदूत हाउ यान्छी सहभागी थिइन् ।

विश्वसम्पदा सूचिमा सूचिकृत भएका क्षेत्रमा १०१ वटा संरचना निर्माण भइसकेको छ । काठमाडौँ उपत्यकामा ४०४ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । उपत्यका बाहिर भने त्यस्ता सम्पदा पुनःनिर्माण भएको सङ्ख्या ३४६ रहेको बताइएको छ ।

Photo By : Mukund Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्