Logo

‘राप्रपा महाधिवेशनमा होमियो, अब राप्रपा (संयुक्त) सँग एकता असम्भव’ : कमल थापा



काठमाडौं, २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले डेढ वर्षदेखि राप्रपा (संयुक्त) सँगको पार्टी एकताको लागि आफूहरुले हदैसम्मको लचकता प्रदर्शन गरेको भएपनि अन्तिम समयमा पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी आफ्नो वचनमा अडिग हुन नसक्दा एकता प्रयास भाँडिएको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘एक दिनअघिमात्रै हामी तीन अध्यक्षबीच सहमति भएको थियो, राप्रपालाई ५५ प्रतिशत दिने र राप्रपा संयुक्तलाई ४५ प्रतिशत दिने सहमति भएको थियो, चुनाव चिन्हको बारेमा पनि उपयुक्त समयमा उपयुक्त निर्णय लिने सहमति भएको थियो । यसबारेमा म, पशुपतिजी र लोहनीबीच सहमति भएको थियो ।’ तर, सहमति भएको भोलिपल्टै आएर जबरा र लोहनी सहमतिमा नअडिएको उनको गुनासो छ । उनले भने,‘उहाँहरु सहमतिमा अडिनुभएन, त्यही भएर करिब करिब एकतामा पुग्ने हाम्रो प्रयास अवरुद्ध भएको छ ।’

राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले अब पार्टीलाई महाधिवेशनमा होम्याएको पनि उनले जानकारी दिए । उनले भने,‘हाम्रो अर्जुनदृष्टिमा महाधिवेशनमा अघि बढ्ने निर्णय भएको छ । २०७७ जेठ २५ गतेबाट केन्द्रीय महाधिवेशन काठमाडौंमा सुरु हुन्छ । हामी महाधिवेशनको तयारीमा जुटिसकेका छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले महाधिवेशनको प्रक्रिया प्रारम्भ भएकोले अब एकताको प्रश्नै नआउने बताउँदै प्राविधिक रुपमा पनि यो संभव नभएको स्पष्ट पारे । उनले भने,‘भोलि महाधिवेशनपछि एकताबारे जे निर्णय गर्छ, त्यसपछि सोचौंला ।’



प्रतिक्रिया दिनुहोस्