Logo

पाम तेलको प्रतिबन्ध खुला



काठमाडौँ, २६ माघ । भारतले नेपाली पाम तेलमा लगाएको प्रतिबन्ध खुला गरेको छ । भारतमा नेपालको निर्यातको मुख्य वस्तु पाम तेलमा भारतले एक महिनादेखि भारत निकासी हुनबाट रोकेको थियो । त्यसक्रममा भारत सरकारले आफ्ना आयातकर्ताको आयात अनुमतिपत्र रद्द गरेकोमा अहिले भारतीय आयातकर्तालाई नेपालबाट पाम तेल आयात गर्नका लागि अनुमतिपत्र दिन सुरु गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले भारत सरकारले आफ्ना आयातकर्तालाई अनुमतिपत्र दिन सुरु गरेको जानकारी दिँदै अब पूर्ववत् अवस्थामा पाम तेल भारत निर्यात हुने बताएका छन् ।  उनका अनुसार पहिलो चरणमा एउटा आयातकर्ताले अनुमतिपत्र प्राप्त गरेको छ भने बाँकीले पनि चाँडै नै पाउने छन् । गत पुस २३ गते भारतको वाणिज्य विभागले पाम तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयले नेपालबाट सबैभन्दा धेरै निर्यात भइरहेको प्रशोधित पाम तेलको व्यापार प्रभावित बनेको थियो । भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि नेपालले त्यसबारे सुरुमा अनौपचारिक रूपमै भारतको धारणा माग गरेको थियो । नेपालमै उत्पादन नभए पनि मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयात गरी प्रशोधन गरेर नेपालबाट भारत निर्यात हुँदै आएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनासम्म नेपालबाट ११ अर्ब ५२ करोड रुपियाँको पाम तेल भारत निर्यात भएको थियो । पाम तेलमा प्रतिबन्ध लगाएपछि सरकार र उद्योगीबीच बारम्बार छलफल हुँदै आएको थियो । दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र ९साफ्टा० अन्तर्गत नेपालबाट हुने निर्यातमा सहुलियतपूर्ण सुबिधा रहेकाले अन्य देशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधन गरी भारत निर्यात हुँदै आएको छ ।

यसो हुँदा पाम तेलको भन्सार शुल्क कम तिरे पुग्ने सुबिधा नेपाली उद्योगीलाई थियो । अन्य देशबाट आयात गर्दा भन्सार शुल्क ४० प्रतिशत तोकिएकाले पनि नेपालमा अहिले पाम तेल प्रशोधन उद्योग फस्टाएका थिए । विराटनगर र वीरगञ्जमा गरी अहिले एक दर्जन पाम तेल प्रशोधन उद्योग सञ्चालनमा छन् । नेपालले सबैभन्दा धेरै इन्डोनेसियाबाट कच्चा पाम आयात गर्दै आएको छ । त्यसपछि मलेसिया दोस्रो स्थानमा छ । भारत र मलेसियाबीच पछिल्लो समय देखापरेको राजनीतिक समस्याका कारण भारतले यस्तो प्रतिबन्ध लगाएको दाबी भारतीय सञ्चारमाध्यमले नै गर्दै आएका छन् । भारत विश्वमै सबैभन्दा ठूलो पाम तेल आयात कर्ता देश हो ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्