म्याग्दी, २६ माघ : लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ बी वान नेपालले बेनी अस्पताललाई रु १७ लाख मूल्य बराबरको उपकरण सहयोग गरेको छ । यहाँ रहेका लायन्स क्लबहरुको पहलमा नवजात शिशुको उपचारमा प्रयोग हुने उपकरण सहयोग गरिएको लायन्सका गभर्नर इन्दु लम्सालले जानकारी दिए । बेनीमा शनिबार सम्पन्न क्लबको बैठकको अवसरमा नवजात शिशुको उपचारमा प्रयोग हुने फोटोथेरापी, बच्चालाई तातो बनाउन प्रयोग हुने सक्सन , हेन्स सेनीराइटर र प्रिपेशन सेट प्रदान गरिएको थियो ।
अस्पतालका नर्सिङ अधिकृत खेमकुमारी पन्तले ती उपकरणले नवजात शिशुलाई जन्डिस, श्वासप्रश्वास तथा महिना नपुग्दै जन्मेको बच्चामा स्वास्थ्य समस्या देखिएमा उपचारमा सहज जानकारी दिए ।
यसैगरी लायन्स क्लबले करीब रु दुई करोडको लागतमा म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीको गलेश्वर माविमा दुईतले आठकोठे पक्की भवन निर्माण गरेको छ । रु एक करोड ९३ लाखको लागतमा भवन निर्माण गरेको क्लबका गिरिधारी शर्माले जानकारी दिए । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण विद्यालयको पुरानो भवन जीर्ण बनेको थियो । नयाँ भवन निर्माण भएपछि विद्यार्थीले सुरक्षित भएका प्रधानाध्यापक गणेश बानियाँले बताए ।
कक्षा १ देखि १२ सम्म पठनपाठन हुने सो विद्यालयमा २५६ विद्यार्थी रहेका छन् । विद्यालयमा कक्षा ८ देखि १२ सम्म प्राविधिक विषयको पढाइ हुन्छ । भवन निर्माणका लागि विद्यालयले रु आठ लाखमा जग्गा खरीद गरेको थियो । मालिका गाउँपालिका–७ बिमको किसानी माविमा पनि अर्को आठकोठे भवन निर्माण अन्तिम चरणमा पुगेको क्लबका सल्लाहकार संयोजक चन्द्रकुमार केसीले बताए । कृषि प्राविधिक विषयको पठनपाठन हुने किसानी माविको पुरानो भवन पनि भूकम्पले क्षति पु¥याएको थियो ।रासस