Logo

सुधारिँदै बालविकास



बलेवा, २६ माघ : विद्यालय तहको कक्षा १ मा भर्ना हुनुअघि बालबालिकालाई मनोवैज्ञानिकरुपमा विद्यालय जान तयार पार्न जिल्लाको काठेखोला गाउँपालिकाले लगानी गरेको छ । कक्षा १ मा पुग्दा बालबालिका पढाइमा अब्बल बनुन् भनेर बालविकासमै दक्ष र मानसिकरुपमा तयार पारिएको छ । उनीहरुको बसाइँ व्यवस्थापन, खेलेर सिक्ने वातावरण तयार पार्ने र प्रशासनिक चुस्ततासमेत बनाउँदा उपल्लो कक्षामा कम लगानीमा दक्ष विद्यार्थी बनाउन सकिने भएकाले लगानी गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले बताए ।

यो अभियानकै क्रममा लेखानीस्थित सरस्वती आधारभूत विद्यालयले बालविकास केन्द्रदेखि कक्षा ३ सम्मका बालबालिकालाई न्यानो कार्पेटमा बस्ने व्यवस्था गरेको छ । यसरी पढ्न बस्दा बालबालिकाको सिकाइ गुणस्तरीय बन्नुका साथै निजी विद्यालय जाने क्रम घटेको प्रधानाध्यापक दुर्गा गुरुङले बताए । बालविकासपछि सोझै कक्षा १ मा नलगी अर्को तयारी कक्षा पनि सञ्चालन गरिएको छ ।

लेखानी मात्र नभई काठेखोलाका ११ माविसहित ५६ विद्यालय र बालविकास केन्द्रमा पनि गाउँपालिकाले खाजा र स्टेशनरीमा लगानी गरेको छ । बसाइँ व्यवस्थापनमा लगानी मात्र नभई निर्देशन पनि दिएको थापाले बताए । बालविकासमा खेलेर सिक्ने व्यवस्था गरिएको छ भने कक्षा १ मा पुगेपछि अङ्ग्रेजी माध्यममा पढाइन्छ । पढाइको तरिकामा सुधार र प्रशासनिक चुस्तता थपिएको छ ।

प्रारम्भिक बालविकासको कक्षा सामुदायिक विद्यालयमा ढाएपछि अधिकांश अभिभावकले कक्षा १ मा भर्ना नगरी निजी विद्यालयमा पठाएपछि सुधारको काम गर्नुपरेको थापाले बताए । “विद्यालय आउने बानी पार्न बालकक्षामा ल्याउने, त्यसपछि निजीमा किन गए भन्ने ठूलो अध्ययनपछि सामुदायिकमै बोर्डिङसरहको पढाइ थाल्यौँ”, थापाले भने, “कक्षा चढेर मात्र गुणस्तर बन्दैन भन्ने बल्ल बुझ्यौँ ।” गाउँपालिका र गाउँ शिक्षा समितिको एक वर्षको अध्ययनले यो सूत्र पत्ता लगाएको उनले बताए ।

गत वर्ष १८ लाख खर्चेर ४२ विद्यालयमा सुधारको काम थालिएको थियो । उक्त प्रयास सफल भएपछि चालू वर्ष सबै विद्यालयमा गुणस्तरीय शिक्षा र कक्षा व्यवस्थापन थालिएको हो । कक्षा व्यवस्थापन थालेपछि शिक्षकको नियमितता, पढाइको विधि तथा प्रशासनिक चुस्ततासमेत अनुगमन गर्न थालिएको हो । “गुणस्तर सुधारका दर्जन बढी सूचक बनाएर नियमित अनुगमन थालिएको छ”, गाउँ शिक्षा अधिकारी रामानन्द कँडेलले भने, “अहिले शिक्षकको नियमितता र प्रशासनिक सुधारसमेत भएको छ ।” कक्षाकोठामा शिक्षक नभेटिने, चउरमा घाम ताप्ने र बालबालिका धुलो खेलेर बस्ने अवस्था पनि अनुगमनले सुधार ल्याएको उनले बताए । अब बालविकास र कक्षा ३ सम्मका बालबालिकालाई खाजाको जोहो घरबाट गर्नु पर्दैन ।रासस



प्रतिक्रिया दिनुहोस्