Logo

प्रदेशसभामा गच्छदारको बचाउ, बैठक स्थगित्



विराटनगर, २६ माघ : प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । पाँचौ अर्थात् हिउँदे अधिवेशनको यो दोस्रौ बैठक हो । हिउँदे अधिवेशन यही माघ २३ गतेदेखि शुरु भएको हो ।

बैठकको प्रारम्भमा नेपाली काँग्रेसका सदस्य उभिएपछि सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि आफ्नो स्थानमा नबसेपछि सचेतक सूर्यमाराज राईलाई बोल्न समय दिएपछि उनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतालाई रक्षा गर्नुपर्ने धारणा राखे ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुने काम गलत भएको भन्दै विरोध जनाएका थिए । उनले कारवाही प्रक्रियालाई नसच्याए लगातार सदन अवरोध गर्ने घोषणा गर्नुभयो । बैठक सोमबार २ः०० बजे अपराह्न बस्ने सभामुख भण्डारीले जानकारी दिए ।

बैठकको आजको सूचिमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तावस्वरुप सदनमा पेश हुने कार्यक्रम तय भएको थियो ।

विरोध सभा

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेस पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई कारवाही गर्न गरेको सिफारिसको काँग्रेस विराटनगर महानगरपालिका समितिले विरोध जनाएको छ । समितिले विराटनगरको शनिहाटबाट विरोध ¥याली निकाली स्थानीय हनुमान मन्दिर नजिककै कोणसभाको आयोजना गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्