इनरुवा, २६ माघ : नेपाल भ्रमण वर्ष सन् २०२० मा लिइएको लक्ष्य पूरा गर्न सुनसरीको कोशी गाउँपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्षण कार्यालयको छेउमा आयोजना गरिएको कोशी पर्यटन महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले हात्ती सफारी र डुङ्गा सयर (बोटिङ)को आनन्द लिइरहेका छन् ।
महोत्सवमा दैनिक रुपमा हात्ती सफारी र बोटिङ गर्नका लागि एक हजारभन्दा बढीको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका बताइएको छ । गाउँपालिकाले ५० हजारदेखि एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आयोजना गरेको सो महोत्सवले उल्लेख्य मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सफल भएको गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले बताए ।
भ्रमण वर्षमा सङ्घीय सरकारले २० लाख र प्रदेश नं १ सरकारले लिएको पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य पु¥याउन महोत्सवको आयोजना गरिएको उनको भनाइ छ । नेपाल भ्रमण वर्षको लक्ष्य हासिल गर्न, आन्तरिक तथा बाह्य पर्यटन अभिवृद्धि गर्न, कोशी टप्पुलाई उत्कृष्ट पर्यटनस्थलका रूपमा चिनाउन, पर्यटन पूर्वाधार निर्माण गर्न, प्राकृतिक सम्पदाको पहिचान र व्यवस्थापन गर्न, सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्न महोत्सव आयोजना गरिएको अध्यक्ष अंसारीले बताए ।
कोशी टप्पुको पहिचान झल्काउने उद्देश्यले मुख्यमन्त्री शेरधन राई, उद्योग पर्यटन वन तथा वतावरणमन्त्री जग्दीशप्रसाद कुशियैत लगायतलाई हात्ती सफारी गराइएको उनले जानकारी दिए । यही माघ १९ देखि शुरु भएको महोत्सव यही माघ २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा प्रत्येक दिन राति तथा दिउँसो विभिन्न किसिमका कार्यक्रमसमेत हुने गरेका आयोजकले जनाएको छ ।रासस