काठमाडौं, २६ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन तथा अनुशन्धान गर्न बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित एक समिति गठन गरेको छ ।
उक्त समितिले अध्ययन तथा अनुशन्धानको लागि काम थालिसकेको छ । तर, तीन सदस्य समितिमा रावल एमसीसी यथास्थितिमा संसदबाट अनुमोदन गर्न नहुने अडानमा छन् । उता, ज्ञवाली भने कुनैपनि हालतमा पारित गर्नुपर्छ भन्ने पक्षमा उभिएका छन् । संयोजक खनाल भने दुई जनाबीचको विवादको भुँग्रोमा परेका छन् ।
रावलले त सुरुदेखि नै एमसीसी देशको हितमा नभएको भन्दै यसका गलत प्रावधानहरु सच्याउनुपर्ने बताएका थिए । सत्तारुढ दल नेकपाभित्र एमसीसीको विरोधमा कडाईका साथ आवाज उठाउने नेताको रुपमा रावल चिनिन्छन् । उता, परराष्टमन्त्रीको जिम्मेवारीमा रहेका ज्ञवाली भने एमसीसी नेपालको हितमा रहेकोले पास गराउनुपर्ने बताउँदै आएका छन् । यस्तो अवस्थामा यो समितिले कस्तो सुझाव देला ? भन्नेबारे अहिले चर्चा सुरु भएको छ । तीन जना सदस्यमध्ये दुई जनाको मत विपरित ध्रुवमा देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त संसदमै सम्बोधन गर्दै एमसीसी पास गराउन ढिला भएको भन्दै तत्काल पारित गराउने वचनबद्धता गरेका छन् । एमसीसीबारे अध्ययन गर्न गठित नेकपाको कार्यदलभित्रै मत विभाजित बनेको छ । दुई सदस्य रावल र ज्ञवालीबीच मत बाझिँदा संयोजक खनालले के गर्लान् ? त्यो भने हेर्न बाँकी छ ।