Logo

पाँच सय मेगावाट बिजुली बङ्गलादेशले किन्ने



काठमाडौं, माघ २७ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र लेटर अफ इन्टेन्ट प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार गर्दै विद्युत् खरिद सम्झौता गर्न आफू तयार रहेको जनाएको हो ।

कम्पनीका आयोजना प्रमुख केके शर्माका अनुसार एलओआईसँगै विद्युत् खरिद सम्झौता गर्ने प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।गत पुसको पहिलो साता बङ्गलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिद समितिले जीएमआरसँग विद्युत् खरिद सम्झौताका लागि स्वीकृति दिएको थियो । एलओआई पाएपछि जीएमआरले बैङ्क जमानतस्वरूप ५० लाख डलर र खरिद सम्झौताका कागजात पेस गर्ने प्रक्रियामा लागेको शर्माले जानकारी दिए ।

खरिद सम्झौताको मस्यौदा बङ्गलादेशको कानुन मन्त्रालय र केन्द्रीय बैङ्कले स्वीकृति दिनुपर्ने हुन्छ । उक्त स्वीकृतिपछि विद्युत् खरिद सम्झौता हुने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्