Logo

ललिता निवास जग्गा प्रकरण : उम्कन खोज्दैछन् लालपुर्जामा फोटो टाँस्‍नेहरू



काठमाडौँ, २७ माघ । मालपोत विभागका महानिर्देशक मुकुन्दप्रसाद आचार्यले २०४९ सालमा आफ्ना ज्वाइँ वैकुण्ठ शर्मा रेग्मीलाई कार्यकक्षमा बोलाए । कार्यालयमा प्रवेश गरेर बसेपछि आचार्यले ज्वाइँतिर केही कागजात तेर्स्याए र एउटा ठाउँमा बूढीऔंठाले देखाई सही गर्न भने । के कागज हो ? कस्तो हो ? ससुराले किन सही गर्न भनेका हुन् ? ज्वाइँ वैकुण्ठ अलमलमा परे ।

‘आफ्नै ससुराको विश्वास छैन र ?’ महानिर्देशक जंगिए । ससुराले भनेको ठाउँमा सही गरेर वैकुण्ठ फर्किए । ‘मैले ललिता निवास क्याम्पभित्रको जग्गा किनेको छैन । ससुराले बोलाएर जंगिएपछि सही गरेर फर्किएको हुँ । २० र २५ वर्षपछि आज जग्गाको खास कुरा र कारोबार थाहा पाएँ,’ दिवंगत भइसकेका आफ्ना ससुराविरुद्ध अख्तियारमा बयान दिन बाध्य भएका वैकुण्ठले भनेका छन्, ‘मलाई दस्तखत गराउने र पदको दुरुपयोग गर्ने काम उहाँको हो । यस सम्बन्धमा मलाई केही जानकारी छैन ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ससुरा र ज्वाइँ दुवैलाई मुद्दा चलाएको छ ।

सरकारले अधिग्रहण गरेको जग्गा तत्कालीन मालपोत र त्यसका कर्मचारीले चलखेल गरी २०४९ सालमा राणा परिवारलाई फिर्ता गराएका थिए । ११४ रोपनी जग्गा फिर्ता गर्ने क्रममा संलग्न कर्मचारीले ‘पञ्चायतकालमा जफत गरिएकाले फिर्ता भएको’ व्यहोरा तयार पारे भने अरू प्रभावशाली कर्मचारीले बाहिर बसेर चलखेल गरे । फिर्ता भएपछि राणा परिवारले केही जग्गा घूसस्वरूप कर्मचारीका आफन्तका नाममा बकस गरे । अहिले फन्दामा परेपछि लालपुर्जामा फोटो टाँस्नेहरू अनेक बयान गरेर उम्किने प्रयासमा छन् ।
(कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्