काठमाडौँ, २७ माघ । प्रहरीको बढुवा प्रक्रियामा वैज्ञानिक प्रणाली अवलम्बन नगरिँदा सर्वेन्द्र खनाल २०७४ फागुन २८ मा डीआईजीबाट सिधै आईजीपी भएका थिए । उनले एआईजी भएर नेतृत्व विकास गर्ने मौका पाएका थिएनन् । मुख्य दुई प्रतिस्पर्धी रमेशप्रसाद खरेल र पुस्कर कार्कीलाई पछि पार्दै खनाल २६ औं आईजीपी भएका हुन् ।
उनी डीआईजीसम्म ‘कम प्रहरी अधिकृत र बढी सेलिब्रेटी’ का रूपमा चिनिए । उनी नेतृत्वमा आएपछि नागरिकका मात्रै होइन, संगठनभित्र पनि सुधारका प्रयास हुने अपेक्षा थियो । खनाल आईजीपी भएकै दिन डीआईजी खरेलले राजीनामा दिए । अर्का प्रतिस्पर्धी कार्कीले आईजीपीसँग मिलेर अघि बढ्ने सार्वजनिक अभिव्यक्ति दिए तर खनाल र कार्कीबीच नेतृत्व टकराव अहिलेसम्मपनि कायम छ । आईजीपी बनेको केही समयपछि खनालले १० बुँदे सुधारका योजना ल्याएका थिए । अपराध अनुसन्धान तथा नियन्त्रण, सुशासन, मानव अधिकारको संरक्षण, आर्थिक पारदर्शितालगायत १० बुँदे योजना प्रहरी प्रधान कार्यालयका युनिटदेखि मुलुकभरका प्रहरी चौकीका भित्तासम्मै फ्रेममा सजाइयो । तर खनालका प्रतिबद्धता एकातिर, काम गर्ने शैली र निर्णय अर्कातिर हुँदै गए । साथ नदिने मातहत कर्मचारीदेखि बाहिरका मानिससम्म उनको निसानामा परे ।
सेवा प्रवेश गर्दा आफूभन्दा वरिष्ठ उत्तम कार्कीलगायत अधिकृतहरू एआईजीका दाबेदार हुँदाहुँदै ४ महिनासम्म पद खाली राखेर अवकाशमा पठाइयो । खनालले त्यसको जवाफ गृह मन्त्रालयसँग माग्न सकेनन् । घोषितरअघोषित रूपमा प्रहरी प्रधान कार्यालयदेखि तल्लो युनिटसम्म आईजीपी र एआईजीरडीआईजीबीचमा कित्ताकाँट नै हुन थाल्यो । प्रहरी प्रमुखका रूपमा ६६० दिन बिताएका खनालले केही सकारात्मक कामको समेत थालनी गरे ।
(कान्तिपुर दैनिकबाट)