Logo

अर्बको लसुन विदेशबाट



काठमाडौं, २८ माघ । चालु आर्थिक वर्षको ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको ५ हजार ७ सय २८ मेट्रिक टन लसुन विदेशबाट ल्याएछौं। यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गर्नेछौं।

कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य अकासिएको हो। अहिले यसको बजार मूल्य सरदर ६ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ। जब कि २० दिनअघि यसको मूल्य एक सय ३० रुपैयाँ थियो। गत आव ०७५.७६ मा ८३ करोड ३० लाख मूल्यको ९ हजार दुई सय ७७ मेट्रिक टन लसुन आयात भएको थियो। हामीले त्यही अवधिमा १५ लाख मूल्यबराबरको १८ मेट्रिक टन निर्यात गरेका थियौं। कृषिजन्य उत्पादनमा मुलुकको परनिर्भरताको पराकाष्ठा लसुनले झल्काउँछ। राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार हरेक वर्ष ठूलो परिमाणमा लसुन चीन, भारत र अन्य मुलुकबाट आयात हुन्छ। सबैभन्दा बढी चीनबाट हुन्छ। केन्द्रका प्रमुख डा। कमल गैरेका अनुसार नेपालमा करिब ६० हजार मेट्रिक टन लसुनको माग छ। स्वदेशमा ५० हजार एक सय ७७ हेक्टरमा करिब ५० हजार मेट्रिक टन हाराहारीमा स्वदेशी र चिनियाँ जातको लसुन उत्पादन हुन्छ।

‘अपुग १० हजार मेट्रिक टन लसुन आयात भएको तथ्यांक छ,’ गैरेले भने, ‘कृषिजन्य वस्तुतर्फ ससाना उत्पादनमा ध्यान दिन नसक्दा आयातका नाममा व्यापार घाटा बढेको हो।’ ठूला होटेल, रेस्टुराँ र सहरी क्षेत्रका अधिकांश उपभोक्ताले चिनियाँ लसुन मन पराउने भएकाले बजारमा बढी माग छ। थोक विक्रेता अर्जुन सिलवालका अनुसार सहरी क्षेत्रका बासिन्दाले चीनबाट आयात हुने ठूलो आकारको लसुन अत्यधिक रुचाएकाले तुलनात्मक रूपमा बजारमा माग बढी छ।
(अन्नपूर्ण पोष्ट्बाट)



प्रतिक्रिया दिनुहोस्