काठमाडौं, माघ २८ । यो वर्ष भ्रष्टाचारका कान्डै कान्डको वर्ष भएको छ। ललिता निवास जग्गा कान्ड, पप्पु कान्ड, वाइडबडी कान्ड, अख्तियारकै आयुक्तको घुस कान्ड, सिक्टा कान्ड, भृकुटी मण्डप जग्गा भाडा कान्ड, यो वर्षका चर्चित भ्रष्टाचार कान्ड हुन्। सबैभन्दा ठूलो कान्ड भने बालुवाटारको ललिता निवास जग्गा हिनामिना नै हो।
ललिता निवास जग्गा हिनामिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५ विरुद्ध मुद्दा दायर गरेको छ। गच्छदारसहित पूर्वमन्त्री चन्द्रदेव जोशी, डम्बर श्रेष्ठलाई प्रतिवादी बनाएको छ।
बालुवाटारको २ सय ८४ रोपनी जग्गामध्ये १ सय ३६ रोपनी जग्गा हिनामिनामा अख्तियारले पूर्वउपप्रधानमन्त्रीदेखि आफ्नै पूर्वप्रमुख आयुक्तमाथि मुद्दा दायर गरेर धेरैलाई झस्काइदिएको छ। कान्डमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वसचिवद्वय दिनेशहरि अधिकारी, छविराज पन्त, भूमाफिया रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई प्रतिवादी बनाएको छ।
ललिता निवास प्रकरणमा अख्तियारकै पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातविरुद्ध ९ करोड ६५ लाख बिगो कायम गर्दै मुद्दा परेको छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन गरिरहेको छ। यसअघि ०७५ सालमा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्री न्यौपानेले विशेष अदालतमा मुद्दा हालेको थियो। भृकुटीमण्डपको ६० रोपनी जग्गा भाडामा दिँदा भएको हिनामिना मुद्दामा मन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध अख्तियारले मुद्दा हालेको थियो। उनीविरुद्ध ३१ करोड ५२ लाख बिगोसहित सजाय माग गरिएको छ। विशेष अदालतमा मुद्दा चलिरहेको छ।
अख्तियारमा यस वर्ष २४ हजार उजुरी परेका छन्। २९ बर्से इतिहासमा सबैभन्दा धेरै मुद्दा आयोगले दायर गरेको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिएको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।