Logo

पशुपतिमा शिवरात्रिको चहलपहल सुरु



काठमाडौँ, २८ माघ । आगामी फागुन ९ गते पर्ने महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा विशिष्ट साधुको आगमन हुन थालेको छ । यो पल्ट महाशिवरात्रि पर्व आउनुअघि नै साधुसन्तको आगमन नौलो मानिएको छ । हरिद्वारबाट विजय शुक्ला, सन्त निवास गङ्गेश्वर काशीबाट रतनदास, मथुराबाट सत्यनारायण र जोशी मठ उत्तराखण्डबाट धेरै साधुको आगमन भएको छ ।

साधुको आगमनबाट पशुपति क्षेत्रमा महाशिवरात्रिको माहोल आएको छ । पशुपति गुठी गोश्वारा कार्यालयका वरिष्ठ लेखा सहायक युवराज रेग्मीका अनुसार यो वर्ष ‘नेपाल भ्रमण वर्ष’ पनि परेकाले साधुको आगमन भएको हो । पशुपति स्मशानघाटमा डा. त्यागिनाथ अघोरीको पनि आगमन भइसकेको नानक मठका महन्थ रमेश बजगाईंले बताएका छन् । पर्व अगावै आएका साधुलाई अन्नपूर्ण आश्रम र पशुपति बज्रघरस्थित रणोद्वीप सिंहको श्राद्ध भान्सामा खानपानको प्रबन्ध भएको बज्रघरका कर्मचारी पञ्चराम महर्जनले बताएका छन् । पशुपति क्षेत्र विकास कोषले पर्वका लागि ७५ लाख रुपियाँ विनियोजन गरेको छ । गुठी गोश्वाराले ४५ हजार किलो दाउरा धुनीका लागि पशुपति ल्याएको छ ।
शिवरात्रिका लागि विशेषज्ञ चिकित्सक सहितको शिविर सञ्चालन हुने भएको छ । रामघाट स्वास्थ्य केन्द्रका अध्यक्ष प्रवेश भण्डारीका अनुसार केन्द्रले नेपाल रेडक्रस सोसाइटी, आनन्द खेरा फ्रेन्ड एन्ड फेमिली ट्रस्ट, आर्यघाट सेवा केन्द्र, परोपकार लगायतले पनि विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गुठी संस्थानबाट हुनुपर्ने काममा भने यो पल्ट प्रभावित हुने सम्भावना छ । संस्थानका प्रशासक, लेखा अधिकृत, उपप्रशासक लगायतका एकमुष्ठ अधिकृत सहितका कर्मचारी भ्रष्टाचार अभियोगमा निलम्बनमा परेपछि महाशिवरात्रि पर्व चलाउन समस्या आएको छ । संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार खर्च निकासा गर्न अधिकार पाएका अधिकृत कारबाहीमा परेर कार्यालय खाली भएकाले नजिकै आएको महाशिवरात्रि कसरी सञ्चालन गर्ने भन्ने अन्योल छ ।

संस्थानले आएका साधुसन्तको स्वागत गर्न, रहुन्जेल खानपानको व्यवस्था गर्न र दक्षिणासहित बिदाइ गर्दै आएको छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुरले राखेको जगनन्दप्रकाशेश्वर लगायतका राजगुठीको आयस्ताबाट पर्व चल्ने गरेको छ । करिब आधा करोड रुपियाँको हाराहारीमा संस्थानले पर्वका लागि खर्च निकासा गर्दै आएको छ । आएका साधुले आगो ताप्न दाउरा माग गर्न थालिसकेका छन् । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार कोष परिषद्को बैठकमा कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पर्व सफलताका साथ सञ्चालन गर्न गराउन शुक्रबार निर्देशन दिएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्