Logo

सप्तरीमा काँग्रेसद्वारा प्रदर्शन



सप्तरी, २८ माघ : डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका युवाहरूको रिहाइको माग गर्दै नेपाली काँग्रेस सप्तरीले सोमबार राजविराजमा प्रदर्शन गरेको छ ।

युवाहरूमाथि झुटा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै काँग्रेसले झुटा मुद्दा फिर्ता गर्न नारा लगाउँदै राजविराज नगर परिक्रमा गरेको हो । काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको नेतृत्वमा निस्केको जुलुसले पक्राउ परेका युवाहरूको मुद्दा फिर्ता माग्दै शहीद दशनचोकमा कोणसभा गरेको थियो ।

नगरपालिकाका प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि गत माघ २१ गते दुव्र्यवहार गरेको आरोपमा सोही नगरपालिका–३ का राजीवकुमार राय, ५ का अमरेन्द्र यादव र ७ का अर्जुन यादव घटनास्थलाट पक्राउ परेका थिए ।

नगरप्रमुख साहमाथि भएको दुव्र्यवहार र हातपातको विरोधमा गत बिहीबार जिल्लाका १८ वटै स्थानीय तह बन्द गरिएको थियो । नगरप्रमुख साहमाथि आक्रमण गर्ने आरोपितमाथि कारवाही नभएसम्म जिल्लाका सबै स्थानीय तह अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गर्दै सप्तरीका नौ नगरपालिका र नौ गाउँपालिकाले सेवा बन्द गरेका थिए ।

प्रहरीले पक्राउ गरेका तीनसहित पाँच जनाविरुद्ध बिहीबार नै गाली बेइज्जती र अभद्र व्यवहारको मुद्दा दर्ता गर्दै कारवाही अगाडि बढाएको छ । आरोपित डाकनेश्वरी नगरपालिका–५ का महेश्वरप्रसाद यादव र वडा नं ७ का गजेन्द्रप्रसाद साह हालसम्म पक्राउ परेका छैनन् ।

नगरपालिका–५ पातोस्थित माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा गत मङ्गलबार सहभागी हुन कर्मचारीसहित गाडीमा गइरहेका बेला आरोपितको समूहले घेरा हाली दुव्र्यवहार गर्दै कर्मचारीमाथि हातपात गरेको नगरप्रमुख साहको आरोप छ ।

गाडीलाई चारैतिरबाट मोटरसाइकलले घेराउ गरी ‘ज्ञापनपत्र दिनु छ, अहिले कार्यालय हिँड’ भन्दै घिस्याउन खोजेको र कर्मचारीले रोक्न खोज्दा उनीहरूमाथि नै हातपात भएको प्रमुख साहले बताए । प्रदर्शनपश्चात काँग्रेस सप्तरीका सभापति दिनेश यादवले पक्राउ परेका युवाहरूलाई झुटा मुद्दा लगाइएको दाबी गर्दै रिहा नगरिए आन्दोलन थप चर्काउने चेतावनी दिए ।

पक्राउ परेका अमरेन्द्र डाकनेश्वरी युवा प्रतिष्ठानका अध्यक्ष हुन् । आर्थिक अनियमितताको विरोध गर्दै प्रतिष्ठानको नेतृत्वमा स्थानीय युवाहरूले डाकनेश्वरी नगरपालिका कार्यालयमा मङ्सिर २९ गतेदेखि ताला लगाएर विभिन्न प्रदर्शनसहित आन्दोलन गरेका थिए । द्विपक्षीय वार्तापछि गत पुस १२ गते २२ बुँदे सहमतिपछि ताला खुला भएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्