Logo

पर्यटकीय गन्तव्य बन्दै भूतेभ्वाङ



पोखरा, २८ माघ  : कुनै समय भूतेभ्वाङमा परिचित स्याङजाको बिरुवा गाउँपालिका–३ स्थित रहस्यमय भ्वाङ यतिखेर पर्यटकीय आकर्षणस्थल बनेको छ । सयौं वर्ष पुरानो अनुमान गरिने भ्वाङलाई साहसिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न स्थानीय राङभाङ युवा क्लबले सक्रियता देखाएको छ ।

क्लबका अध्यक्ष बालकुमार गुरुङका अनुसार बुढापाकाले तत्कालीन समयमा ‘त्यस ठाउँमा भूत बस्छ भन्दै’ बालबालिकालाई जान रोक्दथे । भ्वाङ्को संरक्षण र प्रवद्र्धनमा पहल शुरुआत गरिएको उनले जानकारी दिए ।

केही युवाले डोरीको सहायताले भ्वाङ्मा प्रवेश गरी विस २०७० मा अध्ययनको प्रयास गरेका बताइएको छ । भ्वाङ्भित्रको वास्तविक अवस्थाबारे थप अध्ययन एवं अनुसन्धान गर्ने उद्देश्यले अघिल्लो महिना मात्रै साहसिक पर्यटनमा काम गरेका प्राविधिक समेतको उपस्थितिमा थप अध्ययन भएको थियो । भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष समेत रहेका क्लबका अध्यक्ष गुरुङले प्राविधिकको टोलीले डोरीको सहयाताले भ्वाङ्मा पसी त्यहाँको वास्तविकता बाहिर ल्याएको जानकारी दिए।

डोरीको सहयताले लभगभग ९० फिट गहिराइको भ्वाङ्मा जान सकिन्छ । स्थलगत अध्ययनका क्रममा तल झरिसकेपछि भने आफूहरूले वर्षौदेखि फालिएको फोहर एवं बोतलहरू पाइएको उनले जानकारी दिए।“भ्वाङ्बाट ९० फिट तल झरेपछि त्यहाँ फोहरसहितको ठूलो माटाको थुप्रो रहेछ,” अध्यक्ष गुरुङले भने, “त्यहाँबाट अझै १५ फिट तल झरेपछि दायाँ एवं बायाँ तर्फ दुईवटा मानिस छिर्नसक्ने अरु प्वाल पनि रहेछन् ।”

बुढापाकाले त्यहाँ भित्रबाट दायाँ तर्फ अघि बढेको प्वाल हुँदैजङ्गल तर्फ र बायाँ तर्फको प्वालबाट स्याङ्जाको बिरुवा निस्कन सकिने जनाएका छन् । अहिले भ्वाङ्लाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने सोचका साथ राङभाङ स्थायी बसोवास भई हाल हङकङमा पेशा तथा व्यवसाय गर्दै आएकाको आर्थिक सहयोगमा तारबार गरिएको छ ।

तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमटिर दुरीको सहस्राब्दी पदमार्ग(मिलेनियम ट्रेक) अन्तर्गत पर्ने सो रहस्यमय भ्वाङ्लाई पदमार्ग क्षेत्रको एक पर्यटकीय आकर्षणका रुपमा विकास गर्न लागिएको मिलेनियम ट्रक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।

समितिले मुख्य बाटोबाट रहस्मय भ्वाङ् तफ जाने सिढी बनाइदिएको छ भने यहाँबाट धवादी भञ्ज्याङ तर्फजाने सिँढी बाटो रु आठ लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको छ ।“सहस्राब्दी पदमार्ग अन्तर्गत विभिन्न स्थानमा रहेका विभिन्न प्रकृतिका पर्यटकीय आकर्षणलाई हामीले गुरुयोजनामा समेटेका छौं,” उनले भने, “राङभाङको रहस्यमय भ्वाङ्लाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्ने हाम्रो दीर्घकालीन लक्ष्य छ ।”

बाटोघाटोको सहजताका कारण यहाँ पुग्न पर्यटकलाई खासै समस्या छैन । यहाँ पुग्नका लागि काठमाडौँबाट पोखरा हुँदै स्याङ्जा, वालिङ वा पाल्पा जाने कुनै पनि सवारी साधनमा गएर स्याङ्जाको सदरमुकाम नजिकै चन्द्रनगर (घुम्ती) भन्ने ठाँउमा झर्नु पर्छ । यहाँसम्म पोखरादेखि स्थानीय सवारीसाधन समेत पाइन्छ ।

घुम्तीबाट रहस्यमय भ्वाङ् रहेको राङभाङसम्म जाने जीप पाइन्छ । पदयात्रा एवं प्राकृतिक दृश्यावलोकन गर्दै जानेका लागि करीब तीन घण्टा हिँड्नु पर्दछ ।सहस्राब्दी पदमार्ग अन्तर्गतको स्थान भएका कारण यहाँ नजिकैको भैँसेगाँैडामा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ ।

प्राचीनकालमा यस क्षेत्रमा राङसिङको बोट पर्याप्त पाइने गरेको र यहाँ रहेकोे भ्वाङ्का कारण ठाउँको नाम नै राङभाङ रहन गएको स्थानीय समाजसेवी खुमबहादुर थापाले बताए ।

प्राचीनकालदेखि नै यस क्षेत्रमा रहेको रहस्यमय भ्वाङ्लाई संरक्षण र प्रवद्र्धन गर्दै यसलाई साहसिक पर्यटनको आकर्षक गन्तव्य बनाउनु अपरिहार्य भएको उनले बताए ।रासस



प्रतिक्रिया दिनुहोस्