Logo

निर्वतमान बन्दै गरेका आइजीपी खनालले गर्न सकेको र नसकेको काम



काठमाडौं, २८ माघ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल प्रहरीको इतिहासमा चर्चामा आउने थोरै आइजीपी मध्ये परे । पुख्र्यौली थलो तनहुँ भएपनि काठमाडौंमा हुर्के बढेका खनाल प्रहरी सेवामा रहेर डिआइजी बन्दा सम्म लोकप्रीयताको शिखरमा पुगिसकेका थिए । त्यसैले उनीबाट सिंगो प्रहरीमात्र नभएर सर्वसाधारणले पनि धेरै आशा गरेका थिए ।

खनालले इन्स्पेक्टर र डिएसपी हुँदा नै गुण्डागर्दीविरुद्ध कडा कदम चालेर चर्चा बटुलिसकेका थिए । एसपीका रुपमा तराईमा सरुवा हुँदा खुंखार अपराधीमाथि कारबाही चलाउने देखि सामाजिक अभियानमा समेत नेतृत्वदायी भूमिका निभाए । जनकपुरमा रहँदा उनले बालविवाहविरुद्ध अभियान चलाएर चर्चा बटुले । खुंखार अपराधीलाई समेत कारबाही गरे ।

एसएसपीका रुपमा खनालले वीरगञ्जमा रहँदा रक्सौलतर्फबाट सर्वसाधारणबाट समेत फूलमाला लगाउने काम गरे । त्यसपछि उनी अपराध अनुसन्धान महाशाखामा पुगेर डन देखि ठगविरुद्ध कारबाही चलाए । पेट्रोल पम्पको ठग देखि विद्युत मिटरमा गडबड गर्ने सम्मलाई कारबाहीको दायरामा ल्याए । ट्राफिक प्रहरी प्रमुखका रुपमा उनले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सफलता दिलाए । डिआइजीका रुपमा आफ्नै कार्यकालमा काठमाडौंभित्र ट्राफिक लाइट राख्ने उद्देश्य पूरा नभएपनि आइजीपी रहेको अवस्थामा पूरा गरी छाडे ।

खनालको कार्यकालमा भौतिक पूर्वाधार विकासले गति लियो । उनले आफ्नो कार्यकाल नेपाल प्रहरीको इतिहासमै पूर्वाधार विकासको महत्वपूर्ण समय बन्ने घोषणा गरेका थिए । दशकौं देखि अपराध अनुसन्धान र काठमाडौं परिसरको भवन बन्न नसकिरहेको अवस्थामा खनालको कार्यकालमा भवन निर्माण उद्घाटन भयो । कुनैपनि पूर्वाधार विकास गर्न खोज्दा अनियमितताको आरोप सिधै लाग्ने गरेबाट प्रहरी प्रमुखहरु पन्छने गरेकोमा खनालले जोखिम मोलेका थिए ।

खनालको कार्यकालमा गुण्डा र आपराधिक समूहविरुद्ध कडा कारबाहीहरु भए । जसका कारण उनी विवादमा पनि परे । खनाल आइजीपी नहुँदै इन्काउन्टर विवादमा समेत परेका थिए । तराई र काठमाडौंमा भएका केही इन्काउन्टर घटना हुँदा उनी सम्बन्धित कार्यालयको प्रमुख थिए ।

गर्न नसकेको काम
खनाल आइजीपी हुँदा कञ्चनपुरमा निर्मला पन्त बलात्कारपछि हत्याको घटना भयो । नाबालिकाको हत्या घटनाको अनुसन्धानमा प्रहरी अझै सफल हुन सकेको छैन । खनाल आफै सक्रिय भएर घटनाको दोषी पत्ता लगाउन खोजे तर सकेनन् । आफ्नै कार्यकालमा निर्मला पन्त हत्याकाण्डको दोषी पत्ता लगाउने उनको प्रयास सफल भएन ।

प्रहरीमा समयमै पोशाक उपलब्ध नहुने अवस्था यथावत् रह्यो । खनालले यो अवस्थाको अन्त गर्न खोजेपनि सकेनन् । समग्रमा उनले प्रहरीभित्र र बाहिर सम्झनलायक धेरै कामहरु गरे । केही काम भने अधुरै र त्रुटीपूर्ण रह्यो ।



प्रतिक्रिया दिनुहोस्