Logo

ठाकुर ज्ञवाली आइजीपी



काठमाडौं, २८ माघ । सरकारले ठाकुर ज्ञवालीलाई आइजीपीमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको २७ औं आइजीपीमा बढुवा गरेको हो ।

आइजीपी सर्वेन्द्र खनालसहितका उनका ब्याची एआइजी र डिआइजीहरु आजबाट ३० वर्षे सेवावधि पूरा गरी अवकाश पाएपछि सरकारले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवाको निर्णय गरेको हो । ज्ञवाली डिआइजीका रुपमा प्रदेश नम्बर एकको प्रहरी प्रमुखका रुपमा कार्यरत थिए ।

खनालसँगै प्रहरी निरीक्षकका लागि परीक्षा दिएपनि ज्ञवाली २०४६ साल असारमा वेटिङ लिष्टमा रहेर पाँच महिनापछि भर्ना पाएका थिए । वेटिङ लिष्टमा पर्नुनै उनका लागि आइजीपी हुने अवसर बन्यो । वेटिङ लिष्टका सिमितलाई प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गराइएको थियो ।

नेपाल प्रहरीसम्बन्धि नियमावलीमा हालकै ३० वर्षे सेवा अवधि कायम रहे ज्ञवाली पाँच महिनाभन्दा कम समय मात्र आइजीपी रहेनछन् । असारको दोस्रो हप्ता उनीहरुपछिको ब्याची आइजीपीको प्रतिष्पर्धामा रहनेछन् ।

खनालसँगै एआइजीहरु पुष्कर कार्की, ठुले राई, धीरु बस्नेतका अलावा डेढ दर्जन जति डिआइजीले आजैबाट सेवावधि पूरा गरी अवकाश पाएका छन् । प्रहरीमा तीन एआइजीसहित दुई दर्जन डिआइजीको दरबन्दी खाली भएको छ । एआइजीमा आइजीपी ज्ञवालीभन्दा मुनीको ब्याची पनि प्रतिष्पर्धामा छन् । उनीहरुमध्येबाट एआइजीपी बनेमा आइजीपीको प्रबल दाबेदार हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot