काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अख्तियार दुरुपयोग अनुशन्धान आयोगलाई हस्तक्षेप गरेको भनेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाएको आरोपको खण्डन गरेका छन्् । उनले अख्तियारमात्रै नभएर संवैधानिक आयोगलाई स्वतन्त्र रुपमा काम गर्न दिएको स्पष्ट पारे ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९आँै स्थापना दिवसका अवसरमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेप नगरी निष्पक्ष तरिकाले काम गर्न दिएको बताए । उनले भने,‘‘सरकारले अख्तियारलाई दबाब, निर्देशन दिन्छ भनेर मैले सुनेको छु, तर त्यस्तो होइन, सरकार संवैधानिक अङ्गलाई स्वतन्त्र ढङ्गले काम गर्न दिन्छ र त्यसमा हस्तक्षेप गर्ने मनयास पनि राख्दैन, हस्तक्षेप भन्ने प्रश्न नै आउदैन ।’’
सरकारले संवैधानिक अङ्गका पदाधिकारीलाई कही कतै पनि यसो गर्नुहोस्, उसो गर्नुहोस् नभनेको प्रष्ट पार्दै उनले भने,‘‘सरकार त्यस्ता कुरा कहिल्यै भन्दैन र गर्दैन पनि ।’’ उनले सरकारले संवैधानिक अङ्गमाथि हस्तक्षेत गरेको भन्ने भ्रम छर्ने कोशिस गरिएको भन्दै त्यस्तो कोशिस नगर्न आग्रह गरे । उनले अख्तियारलाई निष्पक्ष र दृढ भएर भ्रष्टाचार नियन्त्रण गर्न निर्देशन दिए ।
भ्रष्टाचारले मुलुकको विकासका आकांक्षालाई कमजोर पारेको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार अन्त्य गरेमात्र मुलुक बन्ने उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि पहिले आफू प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।
‘‘म प्रतिबद्ध छु, म भ्रष्टाचार गर्दिन, म अरुलाई पनि गर्न दिन्न भन्ने प्रतिबद्धता हुनुपर्दछ, अनि मात्र मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुन्छ’’, उनले भने । उनले भ्रष्टाचारमा निल्र्लजता थपिएको जनाउँदै कहाँ सदाचार र कहाँ भ्रष्टाचार रहेको छ भन्ने छुट्टाउन गाह्रो रहेको बताए । file photo