काठमाडौँ, २९ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार गर्ने र गराउने दुवै राष्ट्रका शत्रु भएको बताएका छन् । उनले नैतिकवान, मर्यादित र सभ्य समाजका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्नेमा जोड दिएको छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गर्नुभएको हो । उनले भ्रष्टाचारको बहुआयामिक दुष्चक्र नियन्त्रण नगरिँदा सार्वजनिक सेवा प्रवाह दुरुह बन्दै समुन्नतिको बाटोसमेत रोकिँदै जाने बताएका छन् । उनले राज्यबाट प्रदान गरिने सेवा, सुविधा र अवसरहरू जनताले सरल र सहज रूपमा प्राप्त गर्न तथा सरकारी एवं सार्वजनिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्नमा आयोगको भूमिका अझ सशक्त हुने बताएका छन् । उनले भने, “भ्रष्टाचारमा देखिएका विभिन्न पात्र र प्रवृत्तिलाई पूर्णरूपमा निरुत्साहित नगरेसम्म राज्यले अपेक्षा गरेको सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय साझा आकाङ्क्षा प्राप्त गर्न कठिन हुन्छ ।”
उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन र विधिको शासन कायम गर्न सबै क्षेत्रको सहकार्य र सहयोग जरुरी रहनेसमेत बताएका छन् । उनले भ्रष्टाचारको स्वरूप र शैलीमा परिवर्तन हुँदै गइरहेकाले भौतिक स्रोत, साधन र सवल जनशक्तिद्वारा अगाडि बढ्न आयोग अग्रसर हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् । राष्ट्रपति भण्डारीले आयोगको स्मारिका–२०७६ को लोकार्पण तथा आयोगका कर्मचारीहरूलाई ‘उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र ‘उत्कृष्ट अख्तियार सेवा पुरस्कार’ प्रदान गरेका छन् ।
गोरखापत्र दैनिकबाट