Logo

शारदाकली अरूभन्दा के कम



काठमाडौँ, २९ माघ । उमेर ६४ वर्ष । शारीरिक अवस्था दृष्टिविहीन र वृद्ध । बिहानदेखि साँझसम्मै आफ्नो आहारा आफैं खोज्नुपर्छ । यो अवस्था शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया हात्तीसारमा रहेकी ‘शारदाकली’ नामको पोथी हात्तीको हो ।

बिहान सबेरै घाँस काट्ने काम र त्यसपछि फेरि चर्न जानु त नियमित हो । आवश्यकताअनुसार दिउँसो वा रातिको समयमा पनि गस्तीमा र पर्यटक बोकेर जंगल सफारी पनि लगिने शारदाकलीको दिनचर्या चार महिनायता अलि फरक छ । अरू हात्तीजस्तो कामको भार छैन, न परिश्रम गराइन्छ । ‘दृष्टिविहीन भएसँगै वृद्ध पनि भएकाले हाल शारदाकलीलाई चर्नबाहेक अरू काममा लगाइँदैन,’ माहुते छोटेलाल रानाले भने, ‘अरू हात्तीसँगै उनलाई पनि दिनभरि चराइन्छ । घाँस काट्ने, गस्ती गर्ने र सफारीको काममा अरू हात्ती प्रयोग हुन्छन् ।’ नियमित कार्यभार हटाएर शारदाकलीलाई आराम गर्न दिइएको उनले बताए ।

बिहान घाँस र कुची खान दिइन्छ । खानेकुरा खाएपछि अरू हात्तीलाई घाँस काट्न लगिन्छ । त्यहाँबाट फर्केर ९ र १० बजेतिर शारदाकलीलाई पनि अरू हात्तीसँगै चर्न लगिन्छ । निकुञ्जभित्रै ४र५ किलोमिटरसम्मको दूरीमा चर्न लैजाने गरेको माहुते राना बताउँछन् । चरेर साँझ ४र५ बजेतिर हात्तीसार फर्काइन्छ । फर्केपछि घाँस र कुची खान दिइन्छ । ‘शारदाकली अरूभन्दा बिस्तारै हिँड्छे, सुँघेर र छामेर उनले आफ्नो आहारा खोज्छे,’ उनले भने, ‘हिँड्दा पनि सुँघेर तथा स्पर्श गरेरै उसले आफ्नो बाटो पहिचान गर्छे ।’ कतिपय ठाउँमा आफूले समेत बताउने गरेको उनले बताए । एउटा हात्तीलाई निकुञ्ज विभागले तोकेको रासन कोटाअनुसार दैनिकमा १५ किलो धान, डेढ किलो गुड र २५ ग्राम नुन खुवाइन्छ । धान, गुड र नुन मिसाएर घाँस वा परालमा बाँधिएको पोकालाई कुची भनिन्छ । एउटा हात्तीका लागि तोकिएको एक दिनको रासनबाट ७० र ७५ सम्म कुची बन्ने गरेको रानाले बताए ।

पिपरैयास्थित हात्तीसारमा पुगेर सवारी गरेका पर्यटकको अनुभवमा दृष्टिविहीन भए पनि शारदाकली सफारीका लागि निकै उपयुक्त हात्ती हो । हिँडाइको चाल राम्रो भएका कारण पहिलो पटक सफारी गर्ने पर्यटकहरूले सजिलो र सुरक्षित रहेको बताउँथे । वृद्ध हुँदै गएपछि यतिबेला सफारीमा भने लगिँदैन । ‘अलि रिसालुचाहिँ छ । बेलाबेला माहुतेलाई पनि झारिदिन खोज्छ,’ अर्का माहुते उमेश सुनाहा भन्छन्, ‘नयाँ मान्छे आएका बेला अलि बढी रिसाउँछ ।’ शारदाकलीलाई २०५७ मा बर्दिया राष्ट्रिय निकुञ्जबाट सरुवा गरेर शुक्लाफाँटा ल्याइएको हो । शुक्लाफाँटाको मोतीप्रसादको चितवन सरुवा भएपछि त्यही ठाउँमा शारदाकलीलाई ल्याइएको हो । लामो समय शारदाकलीको माहुते बसेका रामविलास थारूका अनुसार बर्दियाबाट दृष्टिविहीन अवस्थामै ल्याइएको हो । बर्दियामै हुँदा शारदाकलीले बदमासी गरेपछि माहुतेले निकै पिटेका थिए । पिट्ने क्रममा आँखामा चोट लागेर दृष्टि गुमेको थियो । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्