Logo

गोरखपुर–रुपन्देही ग्यास पाइपलाइनको गृहकार्य



काठमाडौँ, १ फागुन । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म ग्यास पाइपलाइनको गृहकार्य अगाडि बढेको छ । रासायनिक मल उत्पादन तथा घरायसी काममा समेत प्रयोग गर्ने उद्देश्यले ग्यास ल्याउने पाइपलाइनको गृहकार्य अगाडि बढेको हो । ल्याइने ग्यास प्राकृतिक अर्थात् लिक्युफाइड नेचुरल ग्यास हुनेछ ।

भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्य समूहकोे बैठकमा गोरखपुरदेखि रुपन्देहीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास पाइपलाइन बिछ्याउनेबारे दुई मुलुकबीच छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । पुस २७ र २८ गते भारतको नयाँदिल्लीमा नेपाल–भारत पेट्रोलियम तथा ग्यासका लागि दुईदेशीय कार्यदलको पहिलो बैठक बसेको थियो । बैठकमा नेपालले गोरखपुरदेखि रुपन्देहीसम्म प्राकृतिक ग्यासको पाइपलाइन बिच्छयाइदिन भारतसमक्ष प्रस्ताव गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा सो दुईदेशीय बैठकमा नेपाल पक्षको नेतृत्व गर्नुभएका ध्रुव घिमिरेले सो कार्यलाई अगाडि बढाउन भारतले नेपालसँग ‘माग प्रक्षेपण’ गरेको र त्यसको तयारी अहिले मन्त्रालयले गरिरहेको जानकारी दिएका छन् । ‘माग प्रक्षेपण’का साथै नेपालमा प्राकृतिक ग्यास बजारको सम्भावित अवस्था र भविष्यबारे समेत भारत नेपालसँग स्पष्ट हुन खोजेको सहसचिव घिमिरेले बताएका छन् । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्