काठमाडौं, १ फागुन । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीे (भाजपा) का प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकारी डा. दिनेश उपाध्यायले नेपालमा हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि जनमतसंग्रह गरिनुपर्ने टिप्पणी गरेका छन् । एक साताको लागि नेपाल भ्रमणमा आएका उपाध्यले रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।
उनले भने,‘यो मेरो व्यक्तिगत धारणा र भावना हो, नेपाल हिन्दूराष्ट्र हुनुपर्छ । नेपालमा पछिल्लो समय धर्म परिवर्तन भैरहेको छ । यो पाप हो । दबाब, आर्थिक प्रलोभनमा धर्म परीवर्तन गराउन गलत हो, जसले यस्तो गराउँछ उनीहरुलाई मृत्युदण्ड दिनुपर्छ । नेपाल सनातन धर्म हुनुपर्छ ।’ उनले आफू पछिल्लो १५ वर्षदेखि नेपाल भ्रमणमा आईरहेको सुनाए । उनले भने,‘सनातन धर्म जीवीत होस् । नेपाल–भारत द्धिपक्षीय सम्बन्ध मजबुद होस् । भारतले नेपाल मजबुद भएको हेर्न चाहन्छ । नेपाल भारतको भाई हो । हामीबीच रोटी–बेटीको सम्बन्ध छ ।’ नेपालको संस्कृति, भाषा सबै धेरै राम्रो भएको उनले टिप्पणी गरे । उनले भने,‘नेपाल स्वर्गको द्धार हो ।’
नेपाल देवताको देश भएकोले यहाँको माटो निधारमा लाउनुपनि सौभाग्यको कुरा भएको उनको भनाई छ । तर, पछिल्लो समय नेपालमा जे भैरहेको छ त्यो गलत भएको उनको गुनासो छ । उनले भने,‘यहाँको संस्कृति जीवीत हुनुपर्छ । धर्म परीवर्तन जो भैरहेको छ, त्यो गलत हो । युरोपियन युनियन र चिनियाँहरुले जे गरिरहेका छन् । त्यो पाप हो । यस्तो काम हुनुहुँदैन् । यो बन्द गर्नुपर्छ । नेपाली जनताले अब सोच्नुपर्छ । उनीहरुले जे गरिरहेका छन् । त्यो राम्रोसँग सम्झाउनुपर्छ ।’
भारतमा सनातन धर्मलाई खण्डित नगरीकन सबै धर्मलाई उत्तिकै स्थान दिईएको सम्झाए । उनले भने,‘म एक हिन्दू हुँ । चीन, भारत सबै हिन्दूराष्ट्र होस भन्ने मेरो चाहना छ । नेपाल हिन्दूराष्ट्र हुनुपर्छ । यो मेरो भावना हो । मेरो अहिलेपनि निधारमा टिका छ ।’ यद्धपी उनले हिन्दूराष्ट्र बनाउनको लागि आफूहरुले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
फरक प्रसँगमा उनले नेपालमा राजसंस्था पूर्नस्थापनाबारे सोधिएको प्रश्नमा कुनै टिप्पणी गरेनन् । भारतले नेपालमा कहिल्यैपनि नाकाबन्दी नगरेको स्पष्ट पारेका हुन् । उनले नेपाल–उनले भने,‘जतिबेला नेपालमा नाकाबन्दी भएको थियो, त्यतिवेला नितिश कुमार, ममता बेनर्जी र अखिलेश उपाध्यायको सरकार थियो, तीनवटै सरकार हाम्रो विरोधी थिए । हामीले त सामान पठाएका थियौं । तर, उनीहरुबाट समस्या आएको थियो ।’ नेपालमा वर्तमान सरकार राम्रोसँग चलिरहेको पनि उनको भनाई छ ।