Logo

एक्लो हेरालुको भरमा गाउँ



काठमाडौँ, २ फागुन । विगतमा यहाँका बासिन्दाले प्रत्येक घरबाट अन्न उठाएर हेरालुलाई दिने गर्थे । यो वर्षबाट वडा कार्यालयले गाउँ हेरालुका लागि बजेट छुट्याएकोछ,’ छाङरुका बासिन्दा वासुदेव ऐतवालले भने, ‘यो वर्षदेखि गाउँपालिकाले दिएको बजेटबाट तलब दिने व्यवस्था मिलाइएको हो ।’ ऐतवाललाई मंसिर १५ देखि चैत १५ सम्मका लागि हेरालु राखिएको हो ।

उनका अनुसार हेरालुले गाउँको सामान्य रेखदेख र निगरानी गर्नुपर्छ । ऐतवालका अनुसार धेरै हिमपात हुँदा भने घरमै बसेर पनि सानो गाउँ नियाल्न सकिन्छ । ‘खान र बस्न समस्या नभए हिउँ पग्लेको समयमा गाउँमा घुम्न सकिन्छ,’ उनले भने, ‘हिउँ नपग्ले घरको छतबाटै गाउँ हेर्न सकिन्छ ।’ छाङरुमा सयभन्दा बढी परिवारको बसोबास छ ।

हेरालुका लागि यो वर्ष ५० हजार बजेट छुट्याइएको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । वडा कार्यालयले छाङरु बस्ती टोल हेरालु शीर्षकमा ५० हजार रुपैयाँ विनियोजन गरेको हो । वडाका छाङरु र तिंकर गाउँमा बस्ती छन् । बोहराका अनुसार विगत वर्षमा चोरीको समस्या देखिएपछि छाङरुका बासिन्दाले हेरालु राख्न थालेका हुन् । उनका अनुसार गत वर्षसम्म व्यक्तिगत रकम उठाएर हेरालुलाई दिने गरिएको भए पनि केहीले अटेर गर्न थालेपछि वडाबाटै बजेट विनियोजन गरिएको हो । (कान्तिपुर दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्