Logo

सशांकको योगी आदित्यनाथसँगको भेटले राजनीतिक तरंग



काठमाडौं, २ फागुन । यो भेट कुनै संयोग थिएन । आयोजकले योजना अनुसार नै तय गरेका थिए । नेपाल भारत सम्बन्धबारे कार्यक्रम लखनऊमा तय गरियो । जसमा सहभागीमध्येका थिए नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, पूर्व राजदूत दिपकुमार उपाध्याय । उनीहरुले बुधबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरे । लखनऊस्थित मुख्यमन्त्रीको कार्यकक्षमा भएको भेटमा योगीले शुरुमै नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो व्यक्त गरेका थिए । उनीहरुले राजनीतिक अवस्थाबारे बताए ।

योगी नेपालबारे निकै जानकार छन् । उनले पशुपतिनाथ देखि विश्वनाथ, गोखरपुर देखि गोरखा, दाङ देखि बलरामपुर, मिर्जापुर देखि पोखरासम्मको धार्मिक तथा ऐतिहासिक सम्बन्धको चर्चा गरे । दुई देशको सम्बन्धको ऐतिासिक र धार्मिक महत्वबारे व्याख्या गरेर । नेपाल भारत सम्बन्ध बिगार्न धर्ममाथि समेत आक्रमण भएको विषय राखे । विश्वस्त स्रोतका अनुसार योगीले धर्मको रक्षामा विशेष जोड दिए । गोखरपुरका मठाधीश रहिसकेका योगीले गोरखपुर र गोरखाको सम्बन्धको व्याख्या गरे ।

योगीले पटक पटक धार्मिक र सांस्कृतिक सम्बन्धको महत्वबारे बताइरहँदा काँग्रेस महामन्त्री कोइरालाले गम्भीरतापूर्वक सुनेका थिए । उनले धर्मको विषयमा काँग्रेस गम्भीर भएको समेत बताएका थिए । भेटमा साथ रहेका काँग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र दिपकुमार उपाध्यायले समेत यसबारे केही बोलेको बुझिएको छ ।

योगीले आध्यात्मिक पर्यटनलगायतका विषयमा कुराकानी गरेका थिए । योगीको नेपालमा धर्मको विषयमा चासो रहेको एक सहभागीले बताए । योगीले पशुपतिनाथ देखि विश्वनाथ, गोखरपुर देखि गोरखा, दाङ देखि बलरामपुर, मिर्जापुर देखि पोखरासम्मको धार्मिक तथा ऐतिहासिक सम्बन्धको चर्चा गर्दै धर्मको महत्वबारे व्याख्या गरेका थिए । भेटमा काँग्रेस नेताहरु रिजाल र उपाध्यायका अलावा युवा नेता सन्दीप राना समेत सहभागी थिए । उनीहरुले नेपाल र भारतको उत्तर प्रदेशबीचको ऐतिहासिक, धार्मिक र सांस्कृतिक निकटताबारे समेत छलफल गरेका थिए ।

योगी आदित्यनाथ नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापनाका पक्षधर मानिन्छन् । उनले उत्तर प्रदेशको मुख्यमन्त्री हुनु अगाडि यो विषय सार्वजनिक रुपमै उठाएका थिए । काँग्रेस महामन्त्री डा. सशांक कोइराला हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका छन् । उनले राजसंस्थाबारे पुर्नविचार गर्नुपर्ने विषय समेत राखिसकेका छन् । नेपाली काँग्रसको महाधिवेशन आगामी वर्ष हुने तय भइसक्दा डा. सशांक कोइरालाको सक्रियतालाई अर्थपूर्ण मानिएको छ । उनको योगी आदित्यनाथसँगको भेट निकै अर्थपूर्ण रहेको छ ।

यसले नेपाली राजनीतिमा समेत तरंग ल्याएको छ । नेपालमा धर्मनीरपेक्षविरुद्ध आवाज उठिरहँदा सशांकले योगीलाई भेटेका छन् । सशांक नेपालमा धर्मनीरपेक्ष हटाउने पक्षमा उभिएका मात्र छैनन् काँग्रेसका भावी सभापतिका दाबेदारका रुपमा समेत देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot