Logo

संविधानको स्वीकार्यतामा कुनै समस्या छैन् : प्रधानमन्त्री ओली (भिडियोसहित)



काठमाडौं, ३ फागुसन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको स्वीकार्यतामा कुनै समस्या नभएको स्पष्ट पारेका छन् । सरकारले २ वर्ष पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले संविधानको स्वीकार्यता वर्तमान सरकारले विस्तार गर्ने काम गरेको पनि दाबी गरे ।

उनले संविधान नमान्ने डा. सीके राउत समूहलाई कानुनको दायरामा ल्याएको बताउँदै अन्य समूहलाई पनि यही बाटोमा ल्याउन सरकार अग्रसर रहेको बताए । आफू नेतृत्वको सरकारले विभिन्न ५५ वटा नयाँ कानुनहरु निर्माण गरेको, २०१ वटा ऐन संशोधन तथा १३ वटा ऐन खारेज गरेको उल्लेख गर्दै ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अभियानमा अग्रसर रहेको बताए ।

त्यस्तै उनले एउटै पार्टीको एउटै सरकारले २ वर्ष पूरा गर्नु पनि नेपालको सन्दर्भमा उपलब्धिको रुपमा लिनुपर्ने अवस्था आएको बताएका छन् । प्रधानमन्त्री ओलीले विगतका सरकार ७–८ महिनामा फेरिने अवस्थाको स्मरण गराए । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भने,‘आजबाट मेरो नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टीको सरकारले सत्ता सञ्चालन गरेको ७३१ दिन अर्थात् २ वर्ष पूरा भएको छ, लामो समयसम्म ७–८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकारले २ वर्ष पूरा गर्नु पनि एउटा उपलब्धिको रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ ।’

पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै आफूले लोकतन्त्र नठान्ने उल्लेख गर्दै ओलीले भने,‘पार्टी खोल्ने, झण्डा बोक्ने र सडक तथा सदनमा प्रदर्शन गर्ने स्वतन्त्रतालाई मात्रै म लोकतन्त्र ठान्दिनँ । म त्यस्तो लोकतन्त्रलाई मान्छु जहाँ हरेक नागरिकको शिक्षा र स्वास्थ्यको सुनिश्चितता होस्, बालपनको संरक्षण, युवाअवस्थामा रोजगारी र वृद्धाअवस्थामा सुरक्षा भएको समाज व्यवस्था होस् । सबै नागरिकलाई समानतासहितको लोकतन्त्र होस् ।’



प्रतिक्रिया दिनुहोस्