काठमाडौं, ३ फागुन । राजपा नेपालले अब सरकारमा जाने सम्भावना बन्द भएको निश्कर्ष निकालेको छ । पछिल्लो समय सरकारमा राजपा सहभागी हुनेबारे चर्चा चलेको थियो । राजपाका अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी भारत भ्रमणबाट फर्किएपछि राजपाले यस्तो निश्कर्ष निकालेको हो ।
राजपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार अब राजपा सरकारमा जाने ढोका बन्द भएको छ । राजपाले अघि सारेका माग र मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लचिलो नभएको गुनासो पोखेका छन् ।
त्यतिमात्रै होईन, राजपाले सरकारमा सहभागी हुने हो भने आफूहरुलाई कम्तिमा पनि चार मन्त्रालय दिनुपर्ने शर्त राखेको थियो । तर, प्रधानमन्त्रीले कुनैपनि हालतमा चार मन्त्रालय नदिने अडान राखेका छन् । अर्को कुरा, रेशम चौधरीको रिहाईमा पनि सरकारले कुनै लचकता नअपनाएको राजपाको गुनासो छ । प्रदेश नम्बर २ को राजपा–समाजवादी गठबन्धनको सरकार तोड्नको लागि राजपालाई उक्साईएको राजपा शीर्ष नेताहरुको आरोप छ । file photo